मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

काठमाडौं । बालुवाटारमा जारी मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा भदौ १५ सम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा पनि रोक लगाउने निर्णय भएको उनले बताए ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।