मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउनबारे निर्णय लिइने

मन्त्रिपरिषद् बैठक आज बस्दै, लकडाउनबारे निर्णय लिइने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सर्टडाउनको अवस्थामा रहेको काठमाडौं उपत्यकालगायत देशका विभिन्न प्रदेशमा लकडाउन गर्ने निर्णय लिन सकिने बताइएको छ । 

कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो । भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सिसिएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि असोजपछि मात्र सञ्चालन गर्नेगरी सरकारले तयारी थालेको छ । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५-१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको छ ।