वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा। सिंह बताउँछन् । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पर्साकी एक महिलासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ । हिजो बाँकेकी एक महिलाको मृत्यु भएको थियो ।