कोरोनाको बढ्दो संक्रमणबीच सीसीएमसी बैठक, मृत्यदर बढेको भन्दै यस्तो निर्णय

कोरोनाको बढ्दो संक्रमणबीच सीसीएमसी बैठक, मृत्यदर बढेको भन्दै यस्तो निर्णय

सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने  निर्णय गरेको छ ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आइतवार बसेको बैठकले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । 

बैठकले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टीनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिए ।  

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गरे ।

यस्तै आगामी भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने आज कुनै निर्णय नभएको उनले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।