काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो ।
काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोक, टेकु, हाँडीगाउँलगायतका क्षेत्रमा धेरै संक्रमित फेला परेका छन् ।
नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाको कारण निधन भएको पुष्टि भएको हो ।