काठमाडौं । कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्थारपत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका अन्य सेवा बन्द गरेका हुन्।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेकोले संक्रमित बढेको क्षेत्रलाई सिल गर्ने निर्णय पनि बैठकले गरेको थियो । काठमाडौंका न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।