काठमाडौं उपत्यकाका सरकारी तथा निजी कार्यालयहरु दुई सातालाई बन्द

काठमाडौं उपत्यकाका सरकारी तथा निजी कार्यालयहरु दुई सातालाई बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरेको छ। जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले आइतबारदेखि लागू हुने गरी सबै कार्यालयहरु दुई साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ। बैठकमा सहभागी एक सदस्यका अनुसार काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।