शनिबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेका यी मन्त्रीमा कोरोना पुष्टि

शनिबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेका यी मन्त्रीमा कोरोना पुष्टि

काठमाडाैं । गत शनिबार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालगायतलाई भेटेर जनकपुर फर्किएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना सक्रमण पुष्टि भएको छ। बुधबार साँझ आएको रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वाब संकलन गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए। साथै उनले आफूमा संक्रमण पुष्टि भए पनि डराउन पर्ने आवश्यकता नरहेको बताए। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सबैसँग अपिल गरे। उनी अहिले होम आइसोलेसनमा बसेका छन्।

यादवले आइतबार काठमाडौंबाट फर्किनुअघि देशका शीर्ष नेताहरूसँग भेटेर आएका थिए । मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए। उनीहरुमा संक्रमण सरेको आशंकामा स्वाब संकलनको तयारी गरिएको छ ।