'केपी ओली बैठकबाट भाग्न मिल्दैन'

'केपी ओली बैठकबाट भाग्न मिल्दैन'

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ थियो ।

‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकार भेटघाटमा भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’

वैठकमा सहभागी भएर वृद्धि विवेक पुर्याएर निष्कर्ष निकाल्नुपर्ने श्रेष्ठको भनाइ छ । नेता श्रेष्ठले पार्टी विधिसम्मत रुपमा नचलेको, निष्क्रियजस्तो भएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको र सांगठनिक एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निष्कर्ष निकाल्नुर्ने बताए ।

नेता श्रेष्ठले गोरखा जिल्ला अस्पताललाई डाइलोसिस मेसिन हस्तान्तरण गरे । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाविच उनले अस्पतालमा प्रशासनलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् । उनले इमर्जेन्सी डायलोसिस मेशिन, पिपिइ सेटहरु, स्यानेटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।