काठमाडौंका यी स्थानमा एकैदिन भेटिए ८० जना संक्रमित, अस्पतालका बेड भरिएर समस्या

काठमाडौंका यी स्थानमा एकैदिन भेटिए ८० जना संक्रमित, अस्पतालका बेड भरिएर समस्या

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले एकैदिन ६२ जना संक्रमित भएको जनाएको थियो । तर साँझको थप अपडेट अनुसार संक्रमितको संख्या ८० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी छन् ।

संक्रमित मध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएको महाशाखाले जनाएको छ । तीमध्ये पनि प्रदेश २ का सबै जिल्ला र भारतबाट आउने बढी संक्रमित छन् । संक्रमण देखिनेमा कपाल काट्ने, तरकारी तथा फलफूल बेच्ने, मजदुरी गर्ने र अन्य व्यवसाय गर्ने व्यक्तिहरु बढी रहेका महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार उपत्यकाका बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरीका साथै भक्तपुरका विभिन्न ठाउँहरु संक्रमण देखिएको बताइएको छ ।  केही व्यक्तिहरु भने कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा परीक्षण गर्दा संक्रमित पाइएका हुन्।

दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा कोरोना उपचारका लागि छुट्टाइएका अस्पतालका बेड भरिएका छन्। जसले नयाँ संक्रमितलाई कहाँ राख्ने भन्ने अलमल बढाएको छ।