विज्ञले प्रधानमन्त्रीलाई दिए कम्तीमा २ साता लकडाउन गर्न सुझाव

विज्ञले प्रधानमन्त्रीलाई दिए कम्तीमा २ साता लकडाउन गर्न सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरे । उनीहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिए’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले भने ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरको भनाइ छ । सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए । 

‘योबीचमा जुन ढंगले सरकारको काम गराइ रह्यो । यसले समय त्यत्तिकै खेर गएको पुष्टि हुन्छ’, उनले बैठकमा भनेका थिए, ‘लकडाउन थपेरमात्रै समाधान होइन । सरकारको योजना पनि के छ ? । दुई हप्ता थप्ने र भोलिपनि अवस्था उस्तै रहे के हुन्छ ? यसबारे सरकार गम्भीर बनोस् ।’

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए । ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् ।