प्रधानमन्त्री ओलीले भने- सरकारले मात्र कोरोना नियन्त्रण गर्न सक्दैन, आफ्नै पार्टीबाट असहयोग भएको गुनासो

प्रधानमन्त्री ओलीले भने- सरकारले मात्र कोरोना नियन्त्रण गर्न सक्दैन, आफ्नै पार्टीबाट असहयोग भएको गुनासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले छलफलमा कोभिड नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा चेतना जति बढाउन सक्यो कोरोनासँग लड्न त्यति सजिलो हुने धारणा राखेको एक सहभागीले जानकारी दिए ।  प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 

ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाए । ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरेका हुन् । उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गरे ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । 

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्नेरनगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।