विज्ञसँग प्रधानमन्त्रीको परामर्श सुरु, फेरि होला लकडाउन ?

विज्ञसँग प्रधानमन्त्रीको परामर्श सुरु, फेरि होला लकडाउन ?

काठमाडौं । कोरोना भाइरस नयाँ चरणमा प्रवेश गरेपछि नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरिरहेका छन् । मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशीलहरूलाई निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

साढे ११ बजेबाट सुरु भएको छलफलमा कोरोना नियन्त्रण प्रभावकारी बनाउने र दोस्रो चरणको लकडाउनको मोडालिटीमा जानुपर्ने, नपर्नेबारे पनि प्रधानमन्त्रीले परामर्श गर्ने बुझिएको छ । जनस्वास्थ्यविज्ञसँग प्रधानमन्त्रीको यो दोस्रो चरणको छलफल हो ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

कोरोना संक्रमण समुदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । विज्ञहरुले लकडाउनको विकल्प नभएको भन्दै लकडाउन गर्न ढिलाई गर्न नहुने बताउँदै आएका छन् ।