“हजुर हाकिम भएर पनि यस्तो । हाम्रो चैँ एउटा घर पनि छैन । मुखिया र खर्दार त के, त्यो दलबहादुर भन्सारको पिउन अरे । उसको पनि घट्टेकुलामा कस्तो राम्रो दुईतले घर छ । भुइँतलाको भाडा मात्रै पच्चीस हजार उठ्छ रे । त्यसको पनि पहाड घर त हजुरको सँगै हो अरे नि । श्रीराम पनि त एउटा मुखिया त हो नि । उसका त काठमाडौँमा मात्रै तीन ठाउँमा घडेरी छन् अरे । उसका छोराछोरी कहाँ पढ्छन्, हजुरलाई थाहा छ ? रातो बङ्गला स्कुलमा गोराका छोराछोरीसँगै पढ्छन् रे । श्रीमती रातो नम्बर प्लेट भएको प्राइभेट गाडीमा सपिङ गर्न जान्छे । आफ्नो चैँ श्रीमान् हाकिम रे । हजुर अधिकृत भएर काम गरेको पनि डेढ दशक पुग्न लाग्यो । कहिल्यै बढुवा पनि हुँदैन । जहिले पनि बढुवामा मलबाँस लागेको लाग्यै मात्र छ । हाम्रो चैँ बसाइ पनि डेरामा छ । छोराछोरी पढ्ने पनि सरकारी स्कुलमा । कतै जानु परे थोत्रो खटेरे मोटरसाइकलमा चढ्नुपर्ने । कहिले त्यही पनि स्टार्ट नभएर डो¥याउनु पर्छ । अस्ति साथीले डिनरका लागि बोलाउँदा कीर्तिपुरको उकालोमा मोटरसाइकल बन्द भएर कस्तो बिजोग भएको थियो । धन्न ! प्राधिकरणको हाकिमले राइड दिएर जान पाइयो । नत्र डिनर न सिनर । छोरी त भोकले कराउन थालिसकेकी थिई ।”
“कोही चिनेका मानिसले देख्दा पनि शिर निहुराएर हिँड्नु पर्ने । एक दिन हैन, दुई दिन हैन । मलाई त माइती जान पनि हुँदैन । सबै दिदीबहिनीका लुगा गरगहना हेर्यो भने आफू त माग्ने भएजस्तै लाग्छ । उनीहरुका छोराछोरीका जुत्ता, लुगा, खेलौना हेर्यो भने लाखौँ पर्ने छन् । हाम्रा राष्ट्र र स्वाभिमानी भने अरुका खेलौना हेरेको हेर्यै हुन्छन् । अरु केटाकेटी हाम्रा राष्ट्रहरुसँग खेल्न पनि मान्दैनन् । राष्ट्रले कस्तो चित्त दुखाउँदै सुनाउँदै थियो ।”
“म को हुँ र हजुरका लागि ? मैले कत्ति भन्दा पनि लाग्ने हैन । अस्ति त्यो टेन्डरको स्वीकृति मात्र गरिदिनू भन्दै दस लाख लिएर ठेकेदार घरमै आएको थियो । कुरो भैँमा खस्न दिया हैन, उल्टै पुलिस लगाएर पक्डाऊँ कि जान्छस् भनेर तर्साएर खेद्नेलाई के भन्नु ? सधैँ राष्ट्रप्रति इमानदार हुनुपर्छ, घुस खानु अपराध हो भन्दै आदर्श छाँटेर के गर्नु ? आदर्शले पेट भरिँदैन । केटाकेटीको जिउ ढाकिँदैन । घरभाडा तिरिँदैन । देख्दादेख्दै सँगैका साथीभाइहरु करोडपति भैसके । हजुरका आदर्श भाँडमा जाए ।”
सुन्दासुन्दा दिक्क लागेछ क्यारे । जुरुक्क उठ्यो देशभक्त ।
“के तिमीले मलाई चोर बन्नु भनेको ? अरुले चोरे भनेर म पनि चोर बनौँ ? चोरेर लुटेर ल्याएर म घर–गाडी किनौँ ? छोराछोरीलाई चोरेको धन र अनैतिक कामबाट कमाएको पैसाबाट बोर्डिङमा पढाऊँ ? देशलाई लुटेर म तिम्रा लागि साडी र गहना किनौँ ? हेर, एक दिन न एक दिन राज्यदोहन गरेर सम्पत्ति थुपार्नेहरुले त्यसको मूल्य चुकाउनुपर्नेछ । त्यसबेला मात्र तिमीले मेरो इमानदारीको महत्व बुझ्नेछ्यौ । मेरो सरल जीवन र आदर्शको अर्थ तिमीलाई थाहा हुनेछ । चोरी गरेर लुटेर ल्याएको सम्पत्तिले कहिल्यै पनि चैन हुँदैन । अरुलाई ढाँट्न सके पनि तिमी आफैँलाई त ढाँट्न सक्दिनौ नि । मलाई अनैतिक रुपमा कमाएको सम्पत्तिले ऐश्वर्य लुट्नु छैन । बहुसङ्ख्यक नेपालीभन्दा भिन्नै भएर पुँजीपति साहू या सम्भ्रान्त वर्गमा दरिनु छैन । आफूलाई अरु सर्वसाधारण नेपालीसँग तुलना गरेर त हेर । आफूलाई सुखी राख्ने हो भने मानिसमा सन्तोष हुनुपर्छ । सन्तोषम् परम् सुखम् । हामी कति सुखी छौँ ? हाम्रा राष्ट्र र स्वाभिमानी कति सुखी छन् ? उनीहरु अरु केटाकेटीझैँ भोकभोकै काममा दौडनु परेको छैन । आज लाखौँ बालबालिका शिक्षाबाट वञ्चित छन् । हाम्रा छोराछोरी पेटभरि खाएर स्कुल जान्छन् । अझ दिउँसोका लागि भनेर लन्च र खाजा खाएर पढ्न पाएका छन् । देशको राजधानीमा बसेका छन् । कुनै डर त्रास छैन, सुरक्षित छन् । कुनै हिंसा झेल्नु परेको छैन । अरु पहाड, हिमाल र तराईका लाखौँ बालबालिकालाई हेर त । कस्तो छ उनीहरुको हालत ? सबै कुरालाई सकारात्मक आँखाले हेर्ने गर्नुपर्छ । अनि यो संसार सुन्दर देखिन्छ । सबै बस्तु सुन्दर लाग्छन् ।”
देशभक्तका कुराले उसकी श्रीमतीलाई छोयो कि छोएन ? तर सात दिनजति घर मौन रह्यो । धनसम्पत्ति र अभावका एकतर्फी गुनासाहरु घरमा उठेनन् । धनसम्पत्ति, घरजग्गा, गाडी र गरगहनाका चर्चा पनि चलेनन् । दुवैले छोराछोरीसँग समय बिताए । शनिबारको दिन चारै जना केबलकार चढेर चन्द्रागिरि गए । दिनभर उतै घुमघाम गरे । दिन बितेको पनि पत्तै भएन । छोरा राष्ट्र र छोरी स्वाभिमानी पनि बाआमासँग घुमघाम गरेर दिन बिताउन पाएकोमा खुसी भए ।
आइतबारदेखि फेरि देशभक्तको व्यस्त दिनचर्या सुरु भयो । केटाकेटी पनि स्कुलमा व्यस्त हुन थाले । ठीक अर्को हप्ताको शुक्रबारको साँझ खाना खाएर केटाकेटी टीभी हेर्न थालेका थिए । फेरि उर्वशीले भट्याउन थालिन्, “हजुरको तलबले घरभाडा, खाना पकाउने ग्यास, दाल ,चामल, तरकारी, लुगाकपडा, केटाकेटीको स्कुलको खर्च गरेर एक पैसा बच्ने हैन । बिरामी परियो भने अस्पताल लाने खर्च पनि हुँदैन । बरु विदेशतिर गयो भने त पैसा पनि कमिन्थ्यो । छोराछोरीको पढाइ पनि राम्रो हुने थियो ।”
“हैन, यो विदेश जाने भूत चैँ कसले चढायो तिमीलाई ? हामी जन्मिएदेखि पढेको, काम गरेको देशमा त यस्तो कठिन छ । त्यो चिन्दै नचिनेको ठाउँ । त्यसमा पनि भाषा मिल्दैन । अब फेरि पढ्न थाल्नलाई पनि आधा उमेरबाट उकालो लागेपछि सजिलो छैन । छोराछोरी पढाउने कि आफू पढ्ने ? आफ्नो देश भनेको आफ्नै देश हो । कहीँ जाने कुरा नगर । छोराछोरीलाई पढाउने । जागिरमा पेन्सन भएपछि पहाड घरमा गएर बसौँला । घरखेत छँदै छ । केको रुवाबासी ?”
उर्वशी अलि जिद्दी स्वभावकी छन् । कुनै कुरामा लागेपछि हत्तपत्त उनको हठले छुट्कारा दिँदैन । उर्वशीले दिनदिनै उही विदेश जाने कुरा घरमा गुन्जाइरहिन् । “सबै साथीहरुले फारम भरिसके । फारम भर्दा मात्रै त केही हुँदैन नि । के थाहा र ? फ्याट्ट भिसा पो लागिहाल्छ कि ? देशमा न शान्ति सुव्यवस्था छ, जहिल्यै बन्द र हड्ताल । नाराजुलुस । धुवाँधुलो । ग्यास नपाइने । चन्दा आतङ्क । कति दिन बस्नु यसरी ?”
उर्वशीले बह पोखिन् ।
“सबै मानिस जसरी बसेका छन्, त्यसै गरी बस्ने नि,” देशभक्तले ठाडै प्रतिकार गर्यो, “हामीलाई मात्रै हो र बन्द हड्ताल ? एक दिन त सबै मिलिहाल्छ नि ।”
विदेशको नाम सुन्न समेत नमान्ने देशभक्तलाई उर्वशीका दिनदिनैका कुराले लाग्यो– आ.. जे होस्, फारम चैँ भरिराखौँ न त ।
क्यानडाको पर्मानेन्ट रेसिडेन्सका लागि भिसा खुलेको थियो । सबै प्रमाण जुटाएर फर्म भ-यो । समय बित्दै थियो । देशभक्तको जागिरमा बढुवा भयो । उपसचिवमा पदोन्नति भएको खबरले साथीभाइ, घर, ससुरालीतिर सबै ठाउँमा चर्चा पायो । इमानदार, लगनशील र मिहिनेती थियो । उसलाई चिन्नेहरुजति सबैले प्रशंसा गरे । बधाईका सन्देशहरु पठाए । फेसबुकको भित्तो बधाईले रङ्गियो । उर्वशीलाई पनि फोनमा बधाई थाप्न भ्याइनभ्याई भयो ।
शरद ऋतुको आगमनसँगै आकाश सफा भएको थियो । नीलो आकाशमा कतै बादलका काला धब्बा थिएनन् । देशभक्तलाई मनपर्ने ऋतु नै शरद हो । कतै हिलो, पानी, झरी नहुने । मुख्य चाडपर्व पनि यही ऋतुमा पर्ने भएकाले औधि रमाइलो लाग्छ । किसानहरु पनि धानका बाला झुलेको खेतमा आँखा बिछ्याएर रमाउँछन् । धान थन्क्याएको दिन ओस्कार विजेता सिने कलाकारभन्दा कम खुसी हुँदैनन् । मानिसहरु फुर्सद पाउना साथ चङ्गा बोकेर चौरीमा भेला हुन्छन् । चङ्गालाई आकाश चुमाउने र अरुका चङ्गालाई चेट् गराउनेको होड चल्छ । देशभक्तलाई आज शरीरमा बेग्लै फूर्ति, जोस र जाँगर आएको छ । थाहा छैन के हो भन्ने ? त्यसै उडौँ उडौँ लागेको छ । सायद यही सुन्दर मौसमले होला ।
देशभक्तको प्रतीक्षामा बाटोतिर आँखा बिछ्याएर उर्वशी बसिरहेकी छे । उसका हातमा क्यानडाको भिसा लागेका चारवटा पासपोर्ट छन् । ती सबै पासपोर्टलाई उर्वशीले धेरैपटक हेरिसकेकी छ । घरभित्र पस्नेबित्तिकै देशभक्तलाई गम्लङ्ग अँगालो मार्छे । उर्वशीको खुसीको राज थाहा नपाएको देशभक्त उर्वशीको ताल देखेर छक्क पर्छ, “हैन के भएको छ तिमीलाई आज ?”
“ल हेर्नुहोस् । हाम्रो क्यानडा जाने भिसा लाग्यो नि ।”
उर्वशी केही नबोली देशभक्तका गाला र निधारमा जता पायो, उतै म्वाइँ खान्छे । देशभक्तलाई बोकेर उचाल्न खोज्छे ।
“हैट् के गरेको ? छोड न झन्डै लडेको ।”
...
जता हेरे पनि सेतो वस्त्र लगाएर बसेका किरियापुत्रीजस्ता हिउँले ढाकेका रुखहरु छन् । भुइँमा चारैतिर हिउँ लमतन्न छ । नेपालबाट ल्याएका बाक्ला भनेका लुगा पनि क्यानडाको जाडोले सातो खाएर होला चिसा हुन्छन् । अपार्टमेन्टको भाडा सुन्दा त बेहोसै हुने खालको छ । एक महिनाको भाडामात्रै एक लाख बीस हजार रे । कोठाका लागि चाहिने भाँडाकुँडा त धन्न नेपालबाटै ल्याएको थियो । तर तीनवटा खाट र म्याट्रेसको मात्र दुई लाख पचास हजार प¥यो । नेपालबाट कत्ति न धेरै भनेर बोकेको बीस लाखले त दुई–तीन महिनाभन्दा धान्छ जस्तो छैन ।
देशभक्त उर्वशीजस्तो मनमा लागेको कुरा व्यक्त गरिहाल्ने स्वभावको छैन । अलि बढी अन्तर्मुखी छ । नेपालमा हुँदा जे जस्तो भए पनि नियमित रुपमा आउने आयस्रोत थियो । हरेक महिनाको अन्त्यमा तलब आउँथ्यो । त्यसले खान–लाउन पुगेकै थियो । छरछिमेक टोल र अफिसका सबै मानिसले नमस्कार गर्थे । अरु केही नभए पनि सम्मान दिन्थे । कम्युनिटी सेन्टरमा गएर रेजुमे बनाउँदादेखि जागिर खोज्दा र अन्तर्वार्ता दिँदा समेत सधैँ उसका मनमा तिनै कुरा खेलिरहन्थेँ । अरु नेपाली महिलासँगै लागेर उर्वशीले मसरुम फ्याक्ट्रीमा काम पाइन् । हाकिम्नी साब भएर बसेकी उर्वशी पहिलो दिनमै चिसोले जीउ दुख्यो, निहुरिएर काम गर्दा घाँटी, पातापाखुरा र कम्मर दुख्यो भन्दै आएकी थिइन् ।
देशभक्तलाई पनि एउटा पन्जाबी ठेकेदारले मोटरपार्टस् कारखानामा कमिसन खाएर काममा लगाइदियो । तर त्यो कारखानामा बनेर आएका पार्टस्लाई छिटोछिटो छानेर लगाउन नसक्दा जागिर दिनभरि पनि रहेन । अर्को दिन चिनेको नेपालीलाई भनसुन गरेर फास्टफुडको जागिर पायो । जागिरको पहिलो दिन नै भुइँ पुछ्ने, कस्टमरले खाएका टेबल सफा गर्नुपर्ने, ट्वाइलेट सफा गर्नुपर्ने कामबाट जागिर आरम्भ भयो । उसले अफिसका रविलाल र राजमतीलाई सम्झ्यो । आँखाबाट अव्यक्त पीडा तपतप गरेर गालामा ओर्लिए । बाथरुमभित्र गएर ती पीडाहरुलाई पुछ्यो । उसले गरेको काम ढिला भएछ क्यारे । म्यानेजर आएर झपा¥यो, “ए म्यान, यू आर लेट । पिपल्स आर वेटिङ फर टेबल ।” कसैले पनि नचिनून् भनेर ह्याटलाई अझ अगाडि झुकायो । गह्रुँगा पाइला घिसार्दै गएर टेबल पुछ्यो ।
आठ घन्टासम्म उभिएर काम गर्दा उसका खुट्टा सुन्निए । टाउको रनक्क भएर दुख्यो । ज्वरो आयो । जीउ भतभती पोल्यो । तर त्योभन्दा बढी उसको मन दुख्यो । अभिमान र स्वाभिमान दुख्यो । आफूलाई सडकमा भीखको याचना गर्दै घिस्रिएजस्तो लाग्यो । जीवनमा कहिल्यै पनि यस्तो कल्पना गरेको थिएन । उसलाई ठूलो भुमरीमा परेजस्तो लाग्यो । रातभरि निदाउन सकेन । कोल्टे फेर्दै रात गुजा¥यो । दिनभरि च्याउ फ्याक्ट्रीमा काम गरेर आएकी श्रीमती थकानले गर्दा स्वाँस्वाँ गर्दै निदाएकी थिइन् । छोराछोरी आआफ्नै कोठामा निदाइरहेका थिए । उठेर दुई गिलास चिसो पानी पियो । उसलाई रात पनि साह्रै लामो लाग्यो । उसलाई ७ बजे फेरि काममा पुग्नुपर्ने थियो । तर ऊ जान सक्ने अवस्थामा थिएन । ५ बजेतिर काममा फोन गरेर म बिरामी भएँ, आउन सक्दिनँ भन्यो ।
“हिजोसम्म शारीरिक श्रम पटक्कै गरिएन । गर्ने समय नै आएन । आज जीवनको उत्तरार्धमा आएर ?”
उसका आँखाबाट फेरि राप्ती र भेरी झर्न थाले । उसको परिवार गाउँमा राम्रै परिवारमा गनिन्थ्यो । गाईवस्तु हेर्ने, घाँस काट्ने सहयोगीहरु घरमै थिए । ऊ छोराछोरीमध्येको कान्छो । घरमा केही काम परे दाजुदिदीहरुले गर्थे । उसलाई आमाले पनि कान्छो घरमै बस्छ, मलाई काम सघाउँछ, पढ्नु छ रे कान्छाको भन्थिन् । हाइस्कुलको पढाइ सकेपछि क्याम्पस पढ्न सहर गयो । होटलमै खाना खान्थ्यो । खाना पकाउन पनि जानेको थिएन । अरु कामको त के कुरा । लुगा धुन पनि सहर पसेपछि मात्रै जानेको हो । पढाइ सक्नासाथ जागिर सुरु ग¥यो । विवाह भयो । कहिल्यै अरु काम गर्ने मौकै परेन । खुइ्यँ गरेर अर्कोतिर फर्कियो । शरीरका नसानसा दुख्दै थिए ।
एउटा चिनेको नेपालीलाई फोन गरेर कामका बारेमा कुरा ग¥यो । उनी इन्डियन रेस्टुरेन्टमा काम गर्थे । म आज बुझेर आउँछु । भोलि एक पटक फोन गर्नु नि भने । श्रीमती बिहानै काममा गइसकेकी थिइन । बिस्तारै उठेर छोराछोरीलाई ब्रेकफास्ट र लन्च बनाइदियो । उनीहरुलाई स्कुल पठायो । मन नलागी नलागी एक कप चिया पकायो । एक स्लाइस पाउरोटीमा पिनट बटर दलेर चिया सँगै खायो ।
हातको घडी हे¥यो । कति चाँडै ९ बजिसकेछ । लुगा फेरेर कम्युनिटी सेन्टरतर्फ लाग्यो । कम्युनिटी सेन्टरमा फोन गर्न, कम्प्युटर चलाउन, प्रिन्ट गर्न र फ्याक्स गर्न सित्तैँमा पाइन्थ्यो । त्यहाँ काम खोज्न र रेजुमे बनाउन सिकाउँछन् । अनलाइनबाट नेपाली पत्रपत्रिका पढ्न पनि पाइन्छ । त्यहाँ गएर कम्प्युटरमा हेर्न थालेपछि दिन ढलेको पत्तै नहुने । त्यो उसको दिनचर्या नै बनिसकेको थियो ।
भोलिपल्ट बिहानै फेरि अघिल्लो दिन कुरा भएका नेपालीलाई फोन ग¥यो । उनले तयार भएर बस्नु म लिन आउँछु भने । गाडीमा जाँदा भन्दै गए, “परदेशमा गाह्रो हुन्छ । बिस्तारै बानी पर्दै जान्छ । काम भनेको ठूलो–सानो हुँदैन । हामीले पैसाका लागि त गर्ने हो नि । एउटा रेस्टुरेन्टलाई डिस्वासर चाहिएको रहेछ । आखिर हातले गर्नु पर्दैन । सबै मेसिनले धुने त हो नि । मेरो मान्छे छ भन्दा ले न त भनेको छ ।”
भाँडा माझ्ने भनेपछि उसको जीउ फेरि गह्रुँगो बन्यो । “म सक्छु होला र ?” उसले प्रश्न ग¥यो । “मान्छेले गरेको काम के छ र ? सकिहाल्नु हुन्छ नि !” साथीले ढाडस दिए । साहू बङ्गाली रहेछ । साहूसँग भेट भयो । साहूले काम गर्न सक्छौ भनेर सोध्यो । सक्छु भन्ने जवाफ दियो । साहूले ल यसलाई काम सिकाइदिनू भनेर अर्को मान्छेलाई देखाइदियो । उसले बेसमेन्टमा लिएर गयो । त्यहाँ त ठूलो किचेन रहेछ । सबै हिँड्न मिल्ने ठूलो फ्रिज रहेछ । उसले भाँडा धुने ठूलो डिस्वासर पनि रहेछ ।
डिस्वासरको छेउमा जुठा प्लेटका ऊभन्दा अग्लो चाङ थियो । प्लेट सफा गर्न र सफा भएपछि डिस्वासरमा लगाएर चलाउन सिकाइदियो । डिस्वासरबाट ताता प्लेट निकाल्दा अगेनामा पोल्दै गरेको हरियो मकैजस्तै लाग्यो । झन्डै हात डढेका । यो पन्जा लगाउनु भनेर नजिकै काम गर्दै गरेको सेफ नूरभाइले दियो । सफा भएका प्लेटलाई फेरि ट्रेमा हालेर माथिल्लो तलामा लानुपर्ने । माथिबाट जुठा प्लेट भरेको ट्रेलाई तल लिएर आउनु पर्ने । निहुरिएर प्लेटले भरिएको ट्रे उचाल्दा जुठा प्लेटको ट्रेले उसलाई तलै तान्थ्यो । सेरामिक प्लेटको फुल ट्रे बोक्दा उसको कम्मरै भाँचिएला जस्तो भयो ।
ऊ तल आइपुग्दा फेरि जुठा प्लेटले हिमाल नै खडा गरिसकेको हुन्थ्यो । उसको शरीर पसिनाले निथ्रुक्क भयो । उसले काम गर्दा लगाएका एप्रोन सबै भिजेका थिए । सबै काम सकेर सफाइ गर्दा रातको १२ बज्यो । रेस्टुरेन्टको किचेनमा काम गर्ने सबैले खाना बनाएर खाए । उसलाई पनि खा भने तर खाएन । अलिकति म्याङ्गो जुस पियो । उसलाई कतिखेर घरमा पुगौँ र डङ्रङ्ग लडौँ जस्तो भएको थियो । अब कोठामा कसरी जाने भन्ने पनि थाहा थिएन । दिउँसो त राइड पाएर आएको थियो । उसले त्यहाँको हेडसेफ नूरभाइलाई भन्यो । नूरभाइले जीपीएस लगाएर देशभक्तलाई कोठामा पु¥याइदियो । देशभक्त त गाडीमा चढ्नासाथ निदाएको रहेछ । घरमा पुगेर उठ् भन्दा पो झसङ्ग भयो ।
देशभक्त बेडरुममा पनि गएन । बैठकको सोफामा बसेको थियो । त्यहीँ निदाएछ । बिहान उर्वशी आएर बोलाउँदा मात्र थाहा भयो । टाउको झट्झट गरेर दुखेको थियो । जिउ दिनभरि हिलो माटोमा काम गरेर थाकेजस्तै भएको थियो । घिस्रिँदै गएर भित्र ओछ्यानमा पल्टियो । ब्यूँझँदा बेलुकी ५ बजेको रहेछ । काममा आउन सक्दिन भनेर खबर पनि गर्न सकेन । अझै पनि जिउ उठ्दैनथ्यो । महिनौँसम्म बिरामी भएर सुतेजस्तो भएको थियो । बिस्तारै छोरीलाई बोलाएर खाना बसाउन अह्रायो । दुई दिनसम्म कतै हिँडडुल गर्न पनि सकेन । अब कसलाई भन्नु ? भन्नेजति सबैलाई भनिसक्यो । गर्ने काम पनि सबै गरिसक्यो । चार दिनपछि एक साथीले क्लिनिङको काम छ भने । उसलाई त्यो काम सुन्दैमा राम्रो लागेन ।
सबै आआफ्नै रुटिनमा चल्नुपर्ने । छोरा राष्ट्र र छोरी स्वाभिमानी पनि उनीहरुकै समयतालिकामा व्यस्त हुन्थे । आमाबुबा नहुँदा खाजा र खाना बनाएर खान्थे । स्कुल नजिकै भएकोले जान–आउन समस्या थिएन । उर्वशीको काममा जाने–आउने गाडी घरसम्मै आउँथ्यो । देशभक्त र उर्वशीको पनि कुराकानी नभएको हप्तौँ भइसकेको थियो । दुवै थकित भएर घर आइपुग्थे । खानपिन गरेर फेरि भोलिका लागि तयार हुन्थे । यसरी नै दिन बितेका थिए । कहिलेकाहीँ त भेटै हुँदैनथ्यो । देशभक्तको मन हरदम नेपालमै हुन्थ्यो । प्रत्येक रात निद्रामा पनि अफिसमा सक्नुपर्ने काम बाँकी भएकामा उसलाई चिन्ता हुन्थ्यो । कहिलेकाहीँ मध्यरातमा उठेर स्टाफहरुलाई के–के भनिरहेको हुन्थ्यो । कतिपटक उर्वशीले ब्यूँझाएर तपाईं क्यानडामा हुनुहुन्छ भनेर झक्झकाउनु पथ्र्याे ।
क्यानडा आएको पनि छ महिना भइसकेको थियो । उसले कामका लागि धेरै प्रयास गरिसकेको थियो । पाँच सय डलर तिरेर सेक्युरिटीको तालिम पनि ग¥यो । तालिम लिएपछि कामको ग्यारेन्टी भन्थे । लाइसेन्स पनि कुनै कम्पनीले नियुक्ति दिएपछि मात्र पाँइदो रहेछ । धेरै ठाउँमा निवेदन दियो । धेरैलाई भनसुन ग¥यो । अहँ, कसैले पनि बोलाएनन् । काम नपाएपछि घरमा बस्ताबस्तै दिक्क भएको थियो । घरमा पनि मुख छोपेर मात्र सुतिरहन्थ्यो । खान पनि मन गर्दैनथ्यो । एकोहोरो भएर टोलाइरहन्थ्यो । सबै व्यस्त हुनाले सोधखोज पनि भएन ।
बुधबार दिउँसो ३ बजेतिर घरबाट निस्किएको थियो । घरमा आएन । काममा गएको होला भनेर खोजी पनि भएन । बिहीबार र शुक्रशार पनि आएन । छोरीले उर्वशीलाई सोधी, “मामु बाबा कता जानुभएछ ? दुई–तीन दिन भयो, देखेकै छैन ।” उर्वशीले काममा जानुभयो होला नि भनेर सामान्य उत्तर दिइन् । राष्ट्रले पनि भन्यो, “खै मैले पनि बाबालाई नदेखेको तीन दिन भैसक्यो ।”
शनिबारको दिन थियो । दिन बादल लागेर धुम्म भएको थियो । पानी पर्ला जस्तो भए पनि पर्न सकेको थिएन । चिसोचिसो भएकाले सबै ढिलासम्म सुते । उर्वशीले ९ बजेतिर उठेर ब्रेकफास्ट बनाइन् । छोरी र उनले ब्रेकफास्ट खाए । छोरो सुतिरहेकै थियो । “ल तिमी र म ग्रोसरी गरेर आऊँ । दूध, पाउरोटी, तरकारी, फलफूल सबै सकिएको छ । तिमीहरुले स्कुल लाने दही र जुस पनि सिद्धिएछ । मेट्रोमा गएर किन्ने,” उर्वशी छोरीसित निस्किइन् । बस स्टपका छेउमा निःशुल्क पाइने पत्रपत्रिका राखेका हुन्थे । छोरीले एउटा पत्रिका निकाली र पल्टाउन थाली । दोस्रो पानामा एउटा समाचार थियो । त्यसले उसका आँखालाई ताने । ऊ उभिएर समाचार पढ्न थाली ।
उर्वशी निकै पर पुगेकी थिइन् । छिटो आइज भन्दै फर्किएर बोलाइन् । छोरी डाँको छोडेर रोएको देखेर उर्वशीले के भयो भन्दै दौडिंदै गएर समाइन् । छोरी ‘हाम्रो बाबा... ’ मात्र भनेर भुइँमा ढली । उर्वशीले पत्रिकामा आँखा दौडाइन् । देशभक्तको शरीर बीच सडकमा थियो । तीन–चार वटा गाडीहरु अनि पुलिसका गाडी र दमकल र एम्बुलेन्सहरुले बाटो छेकेका थिए । समाचारको हेडलाइन थियो, ‘अन्नोन म्यान जम्प्ड फ्रम द ब्रिज’ ।
अटवा, क्यानडा