काठमाडाैं । कोरोना संक्रमित थप चारजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित मिडिया ब्रिफिङमा पछिल्लो २४ घन्टामा एक महिला र तीन पुरुषको निधन भएको जनाएको हो ।
मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– ११ का ५६ वर्षीय पुरुष, वीरगन्ज– १६ का ३५ वर्षीय पुरुष र वीरगन्ज– २ का ६५ वर्षीय पुरुष छन् । उनीहरू सबैको वीरगन्जस्थित गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो ।
त्यसैगरी वीरगन्ज– ११ घर भई हाल ललितपुर बस्ने ६५ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । योसँगै कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।