अब जिल्ला प्रशासन कार्यालयमा बारअनुसार सेवा, कुन दिन के काम ?

अब जिल्ला प्रशासन कार्यालयमा बारअनुसार सेवा, कुन दिन के काम ?

कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ ।

यही साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको हो । 

सूचनाका अनुसार आइतबार र बिहीबार काठमाडौं महानगरपालिकाका नागरिकले सेवा पाउनेछन् ।

यस्तै सोमबार कीर्तिपुर, नागर्जुन ,चन्द्रागिरि तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन् ।

यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् ।  

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ ।

शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ ।

गृह मन्त्रालयले कोभिड–१९ को जोखिम बढेको भन्दै बिहीबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ ।

मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।