काठमाडौं । उद्योगमन्त्री तथा नेकपा नेता लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको भट्टले बताए । एमसीसीको पक्षमा आफूले बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।
संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको उनले दावी गरे ।
बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए ।
संसदले नै ०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दावी छ।