काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किदै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहबीच बोलचालै बन्द भएको छ । एकपक्षिय रुपमा मंगलबारको स्थायी कमिटी बैठक ओलीले स्थागित गरेपछि प्रचण्डले अटेर गर्दै बैठक सञ्चालन गरेका थिए । सोही बैठकमा उपाध्यक्ष वामदेव गौतमले ६ बुंदे प्रस्ताव पेश गर्दै ओलीको समर्थन गरेका थिए । गौतमकै कारण पछिल्ला दिनहरुमा ओली र प्रचण्डसमूहबीच बोलचाल बन्द भएको हो ।
उपाध्यक्ष गौतमले साथ दिएपछि ओली सचिवालयमा बलियो देखिएका छन् । जस्कारण उनी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालयमार्फत जारी विवाद अन्त्य गर्ने मनस्थीतिमा छन् । तर प्रचण्ड समूह भने स्थायी कमिटीबाटै विवादको समाधान गर्नुपर्ने अडानमा छन् । सचिवालय सदस्य रामबहादुर थापा ओली र प्रचण्डको समदुरीमा रहँदा प्रचण्डलाई सचिवालयमा ओलीको बहुमत पुग्ने आशंकामा छ । त्यसैले स्थायी कमिटी बैठकमै उनीहरुले जोड दिंदै आएका छन् ।
आफ्नो पक्षमा रहँदै आएका गौतमलाई ओलीले तानेपछि अन्य नेतालाई पनि ओलीले प्रभावमा पार्न सक्ने भन्दै प्रचण्ड र माधव नेपाल समूह थप रणनीति तय गर्न व्यस्थ छन् । गौतमको प्रस्तावले पार्टीलाई यथास्थीतिमा राख्ने र जनमत घट्ने भन्दै प्रचण्ड नेपाल समूह ओलीको राजीनामा पार्टीकमिटीबाटै पारित गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।
ओली पक्ष भने प्रचण्ड नेपालको गठबन्धनलाई फुटाएर मात्र महाधिवेशनमा जाने योजनामा छन् । हाल सचिवालयमार्फत आत्माआलोचना गरे महाधिवेशनमा केन्द्रीत हुने प्रस्ताव पारित गर्ने र कालन्तरमा महाधिवेशनलाई टार्दै आगामी निर्वाचनभन्दा पछाडी मात्र महाधिवेशन गर्ने योजना ओली पक्षमा बनेको स्रोतको दाबी छ ।
वार्ताको वातावरण बनाउन महासचिव सक्रिय
महासचिव विष्णु पौडेल भने पार्टीभित्रको सन्नटा तोड्न लागिपरेका छन् । उनले ओली सचिवालयमार्फत विवाद समाधनको लागि छलफल अगाडि बढाउन तयार रहेको सन्देश पनि प्रचण्डसम्म पुर्याएका थिए । दुई अध्यक्षलाई वार्तामा बस्न पनि उनले दवाव दिंदै आएका छन् ।
प्रचण्डले भने आफू अल्पमतमा परेपछि बैठकबाटै भाग्ने ओली प्रवृत्तिले पार्टीलाई ठूलो नोक्सान गर्ने भन्दै ओली नसचिएसम्म वार्तामा बस्नुको कुनै अर्थ नरहेको जवाफ पौडेललाई फर्काएका थिए । प्रचण्डले वार्तामा बस्न अरुची प्रकट गरेपछि पौडेलले माधव नेपालसँग वार्ताको लागि जोड दिन आग्रह गरेका छन् ।