किशोरावस्थामै यौन सम्पर्क र गर्भधारण बढेपछि ब्राजिलको अभियान, 'सबथोक सही समयमा'

किशोरावस्थामै यौन सम्पर्क र गर्भधारण बढेपछि ब्राजिलको अभियान, 'सबथोक सही समयमा'

ब्राजिलको सरकारी नारा छ, 'सबथोक सही समयमा'। त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा व्यापक प्रचार गरिएको छ। त्यहाँ किशोरावस्थामा गर्भधारणको उच्च दर उच्च छ। १५ देखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एक लाखमा ६२ छ। त्यसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ। त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ।

ब्राजिलको सरकारी तथ्याङ्क अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो। तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च छ। ब्राजिलकी महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न र विवाहपछि मात्र यौन सम्पर्क राख्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले भने आलोचना गरेका छन्।

मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इसाई नेता हुन्। उनीमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप छ। उनले गत वर्ष नै भनेकी थिइन्, 'आनन्दका लागि मात्र यौन खोज्नेहरूविरुद्धको कडा अभियान चलाउँदै छौँ। किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी तरिका कन्डम, उपकरण र गर्भनिरोधक चक्की नभई यौनबाट अलग रहनु हो।' मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन्।

यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ।

सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको विषय भने नबनाउने जनाएको छ।

राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए। तर स्वास्थ्य सङ्गठनहरूले यो कार्यक्रमको चर्को आलोचना गर्दै यो प्रभावकारी हुने कुनै वैज्ञानिक आधार नरहेको बताएका छन्।

स्वास्थ्यस्याहारसम्बन्धी एक सङ्गठनले विज्ञप्तिमा भनेको छ, 'यस विषयको वैज्ञानिक रूपबाट पुष्टि हुने एकमात्र उपाय भनेको किशोरकिशोरीहरूलाई पर्याप्त यौन शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिनु हो।'

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विद्यालयभित्र र बाहिर दिइने यौन शिक्षाले 'यौन क्रियाकलापहरू, त्यसको जोखिम वा यौनरोग एवम् एचआईभीको सङ्क्रमण दर बढाउँदैन।'

डब्लुएचओले भनेको छ, 'यौनबाट अलग राख्न प्रोत्साहन गरिने कार्यक्रमहरूले ढिलो यौन उत्साह सिर्जना गर्न, यौन सम्पर्क दर घटाउन वा यौनसाथी कम गर्न प्रभावकारी भूमिका खेल्दैनन्।

कन्डम र गर्भनिरोधकसम्बन्धी ज्ञानको साथ यौन गतिविधि ढिलो गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू प्रभावकारी हुन्छन्।

महिला अधिकारवादी एवम् विपक्षी सांसद साम्बीया बोमफीमले सरकारले जटिल समस्यालाई किशोरकिशोरीको आफ्नै निर्णयमा छाडेको बताएकी छन्। उनले ट्वीट गरेकी छन्, 'जुन देशमा बलात्कारका अधिकांश पीडितहरू १३ वर्षमुनिका छन्, के त्यहाँ किशोरीहरूलाई नाइ भन्ने छुट होला?'