कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता

कोरोनाविरूद्धको खोपमा बेलायतलाई सफलता

काठमाडौं ।  कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको  छ ।

पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियो, जसको नतिजा ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ। खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको रिपोर्टमा उल्लेख छ। वैज्ञानिकहरूले यो नतिजालाई ‘एकदमै उत्साहजनक’ भनेका छन्। तर, यसलाई सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्।

बृहतस्तरमा पनि सफल भए अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरूद्धको खोप विकासमा पाएको यो सफलता विश्वमै पहिलो हुनेछ । यो खोपलाई लिएर यसका निर्माताहरू मात्र होइन, बेलायत र अमेरिकासमेत एकदमै आशावादी भएका छन्।

बेलायतले अनुसन्धानको अन्तिम नतिजा आउनुअगावै १० करोड डोज खोप अर्डर गरिसकेको छ। अमेरिकाले पनि अनुसन्धानलाई तीव्रता दिन एक अर्ब २० करोड डलर उपलब्ध गराउने निर्णय गरेको बताइएको छ। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमासमेत लिइएको छ।

अक्सफोर्ड विश्वविद्यालयले बेलायती–स्वीडिस औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकासँग मिलेर खोप निर्माण गरेको हो।