ललितपुरमा प्रहरी र किसानबीच झडप, के विषयमा हो विवाद ?

ललितपुरमा प्रहरी र किसानबीच झडप, के विषयमा हो विवाद ?

ललितपुर । ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । शनिबार खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ ।  

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए । 

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् । यसअघि गत असार १५ को अवसर पारेर किसानले रोपाइ गर्न खोज्दा पनि प्रहरीले अवरोध गरेको  थियो ।