काठमाडौं । असार १९ मा नयाँ वानेश्वरका ८५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गयो । काठमाडौंमा यसअगावै दुई जना संक्रमितको मृत्यु भइसकेको र कुल कोरोना संक्रमित १ सय १० नाघ्नुले डरलाग्दो संकेत गरेको छ । तीमध्ये धेरैजसोको ट्राभल हिस्ट्री छैन, संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।
काठमाडौं उपत्यकाका ३० भन्दा बढी ठाउँमा संक्रमित भेटिएका छन् । अहिले यो संख्या सानै भए पनि काठमाडौंमा कोरोना संक्रमण उकालो लाग्ने क्रममा छ । खुकुलो लकडाउन र आवतजावतमा निगरानी कमजोर हुँदा अहिलेको अवस्था आएको हो ।
संक्रमित निरन्तर थपिइरहँदा पनि घर बाहिर निस्कनेहरूले स्वास्थ्य सुरक्षामा भने एकदमै हेलचेक्य्राइँ गरिरहेका छन् । मास्क नलगाउने, व्यक्तिगत दूरी पालना नगर्ने र भीडभाड गर्ने अत्यधिक बढेका छन् । हवाई तथा सार्वजनिक यातायात, स्कुल-कलेज, सिनेमा हलबाहेक सबै खुलाजस्तै छन् ।
विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार फाट्टफुट्ट देखिएका यस्ता एकरदुईवटा केसलाई संक्रमण समुदायमा गएको भन्न मिल्दैन । अहिले समुदायमा संक्रमण गएको छैन तर स्थानीय संक्रमण छिटपुट रूपमा भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलजिस्ट डा वासुदेव पाण्डेका अनुसार स्थानीयमा संक्रमण चिन्ताको विषय हो । राजधानीमा लक्षण नदेखिने संक्रमितको समूह ठूलो छ । लक्षण नभएका व्यक्तिले रोग सजिलै सारिदिन सक्छ ।
भारतबाट आउने, केही दिन तराईमा बस्ने र त्यसपछि काठमाडौं आउने गर्नाले राजधानीमा संक्रमणको जोखिम बढेको भाइरोलजिस्ट डा पाण्डेको भनाइ छ ।
'काठमाडौंवासीलाई लागेको हुन सक्छ, १४ हजारभन्दा बढी संक्रमित देखिए तर मान्छेको मृत्यु खासै भएको छैन, हाम्रो प्रतिरोधक क्षमता दह्रो नै हो कि भन्ने भ्रम परेको हुन सक्छ,' उनी भन्छन्, 'संक्रमण समुदायमै गएर अलि बूढापाका, दीर्घरोगी, प्रतिरोधक क्षमता कम भएकालाई भेट्यो भने त मृत्युदर बढ्न सक्छ ।'
काठमाडौंमा बाहिर जस्तो क्वारेन्टाइन धेरै छैनन् । हाल क्वारेन्टाइनबाटै संकलन गरिएको नमुना परीक्षणमा पोजिटिभ देखिने गरेको हो । घरघरै परीक्षण सुरु गरिएको छैन । काठमाडौंमा ४० लाख जनसंख्या छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । जनस्वास्थ्यविद्हरु हेलचेक्य्राइँ बढ्दै गए काठमाडौंको अवस्था भयावह हुने औंल्याउँछन् । भारतमा भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लामो समयको लकडाउनका कारण काम नपाएपछि भारतमा रहेका लाखौं नेपाली स्वदेश फर्किरहेका छन् ।
जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेका अनुसार परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन । तर काठमाडौं उपत्यका बाहिरबाट भित्रिनेको संख्या निरन्तर र बेरोकटोक बढिरहेकाले काठमाडौं उच्च जोखिममा छ ।
'संक्रमित क्षेत्रबाट नागरिक आइरहेको हुँदा भित्रभित्रै भुसको आगोको रुपमा नदेखिएको पनि हुन सक्छ,' डा पाण्डे भन्छन्, 'काठमाडौं उपत्यकाको अवस्था थाहा पाउन पीसीआर टेस्टको दायरा बढाउनुपर्छ । काठमाडौं कोरोनामुक्त छैन ।'
भारतको राजधानी नयाँदिल्लीमा मात्र असार २० सम्म कुल संक्रमितको संख्या ९२ हजार १ सय ७५ पुगेको छ भने मृतकको संख्या २ हजार ८ सय ६४ । यही गतिमा संक्रमण फैलिँदै गएको खण्डमा दिल्ली भारतकै सबैभन्दा प्रभावित राज्य बन्ने देखिएको छ । त्यसको नियन्त्रणका लागि जुलाई ५ सम्म उच्च जोखिमयुक्त क्षेत्र भनेर पहिचान भएका ‘कन्टेनमेन्ट जोन’ भित्र पर्ने सबै घरमा भाइरसको परीक्षण गरिने भएको छ । दिल्लीमा २ सय ६१ वटा ठाउँलाई ‘कन्टेनमेन्ट जोन’ तोकिएको छ ।
भारतको स्वास्थ्य तथा महिला कल्याण मन्त्रालयका अनुसार दैनिक रूपमा दुई लाखभन्दा बढी परीक्षण हुने गरेको छ । भारतमा हालसम्म ७५ लाखभन्दा बढीको कोरोना भाइरसको परीक्षण भएको छ । अहिलेकै गतिमा संक्रमण बढ्दै जाने हो भने जुलाईभित्र संक्रमितको संख्या साढे पाँच लाखभन्दा बढी नाघ्ने प्रक्षेपण दिल्ली सरकारले गरिसकेको छ । यसरी संक्रमण फैलिनुमा लकडाउन खुकुलो हुनुलाई मुख्य कारण ठानिएको छ ।
भारतमा लामो दूरीका रेल सेवादेखि आन्तरिक हवाई उडान पनि सञ्चालनमा भएका छन् । त्यसैगरी राज्यहरूबीच बीच चल्ने यात्रुवाहक बस सेवाहरू पनि सुचारु भएको छ । यसरी लकडाउन खुकुलो हुनेक्रमसँगै मानिसहरूको आउजाउ बढेका कारण संक्रमण पनि तीव्र रूपमा फैलिँदै गएको छ ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्लाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले आगामी कात्तिकको दोस्रो साता भारतमा कोरोना संक्रमण सबैभन्दा उच्च विन्दुमा पुग्ने उल्लेख गरेका छन् । गत वर्ष नोभेम्बरमै भारतमा कोरोना भाइरसको पहिलो केस पुष्टि भएको थियो ।