८ नेपाली एलजिबिटिआई सेलिब्रेटी, जसले विश्वभर फैलाए आफ्नाे पहिचान

८ नेपाली एलजिबिटिआई सेलिब्रेटी, जसले विश्वभर फैलाए आफ्नाे पहिचान

जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कंदै जाँदा कतिपय व्यक्तिमा प्रतिविम्बित हुने यौन चाहनाले नै लैंगिक पहिचान निर्धारण गर्छ । यस समुदायलाई समग्रमा तेस्रोलिंगी भनेर बुझ्ने गरिए पनि फरक यौनिकताका विभिन्न समूहलाई जनाउन अंग्रेजीमा एलजिबिटिआई भन्ने गरिएको छ ।

 'एल' को अर्थ लेस्बियन अर्थात् महिलाले महिलासँगै सम्बन्ध राख्न मन पराउने, 'जी' को अर्थ 'गे' अर्थात् पुरुष र पुरुष तथा महिला–महिलाबीच सम्बन्ध राख्न मन पराउने, 'बी' को अर्थ बायसेक्स अर्थात् महिला र पुरुष दुवैसँग सम्बन्ध राख्न मन पराउने, 'टी' को अर्थ ट्रान्सजेण्डर जन्मँदा छोरा पछि छोरी बनेर खुल्ने अनि जन्मँदा छोरी पछि छोरा बनेर खुल्ने, 'आई' को अर्थ अन्तरलिंगी अर्थात् छोरा वा छोरी भनेर छुट्याउन नसकिने यौनिक समुदाय हो ।

नेपालमा महिला र पुरुषबाहेकका भिन्न यौन चाहना राख्ने व्यक्तिहरु आफ्नो पहिचान, अधिकार र आत्मसम्मानका लागि संघर्षरत छन् । अझै पनि समाजको डरले थुप्रै समलिंगी तथा तेस्रोलिंगीहरू आफ्नो पहिचान खुलाउन चाहिरहेका छैनन् तर एलजिबिटिआई समलिंगी वा तेस्रोलिंगी पनि समाजकै हिस्सा हुन् । 

उनीहरू लैंगिक रूपले फरक भए पनि अरूजस्तै जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने देखाइसकेका छन् । आफ्नो हकहित, अधिकार र पहिचान समाजसामु ल्याएर इन्स्पिरेसन व्यक्तित्वका रुपमा चिनिएका ८ नेपाली एलजिबिटिआई सेलिब्रेटीबारे यहाँ चर्चा गरिएको छ ।

१. प्रबल गुरुङ, फेसन डिजाइनर
अन्तर्राष्ट्रिय फेसन डिजाइन नगरीमा सबैभन्दा अग्रपंक्तिमा आउने नाम हो, प्रबल गुरुङ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका फेसन डिजाइनर प्रबल नेपालमा हुर्किएर विश्वमै प्रसिद्धि कमाउने सीमित व्यक्तिमा पर्छन् । ४१ वर्षको उमेरमा उनले 'फेसन डिजाइनिङ' को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ ।

उनले तयार पारेको पहिरनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिउड र बलिउडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन् । सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन् । आफ्नै नामको फेसन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा सय वटा फेसन स्टोर छन् । प्रबल खुलेआम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा आफू समलिंगी भएकोमा गर्ब गर्छन् अनि अरुलाई पनि आफ्नो पहिचान नलुकाई अघि बढ्न मोटिभेसन दिन्छन् । 

२. अन्जली लामा, सुपर मोडल 
नेपाली ट्रान्सजेन्डर मोडलका नामले परिचित अन्जली लामा नुवाकोटमा जन्मिएकी हुन् । अन्जली मूल रूपमा एक केटाका रूपमा जन्मिएकी थिइन् । ३५ वर्ष लागिसकेकी उनले नवीनबाट अन्जली हुनलाई निकै संघर्ष गर्नुपरेको थियो तर आफ्नो पहिचान र अस्तित्वलाई जिउँदो राख्ने र आफ्नो सपना साकार गर्न उनले धेरै यातनापूर्ण वर्षहरु कटाउनु पर्यो ।

समयको साथ, उनको मेहनत र भाग्यले उनी आज विश्वमै ट्रान्सजेन्डर सुपर मोडलका रुपले चिनिन्छिन् । अञ्जलीलाई भारतको मुम्बईमा आयोजित भोग ब्युटी अवार्डमा 'वर्ष मोडेल' का रूपमा सम्मान गरिएको थियो । उनी लेक्मे फेसन विक र अन्तर्राष्ट्रिय ब्राण्ड केल्भिन क्लाइनसँग जोडिएकी छन् । अन्जली प्रतिभाशाली, आत्मविश्वासी र साहसी छिन् तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उनी ग्ल्यामर उद्योगमा लैंगिक अवरोधहरूलाइ तोडिरहेकी छन् ।

३. लेक्स लिम्बु , ब्लगर 
'हो, म गे हुँ ।' कति नेपाली तेस्रोलिंगी र समलिंगीहरुले समाजको डरले होस् वा परिवारको कारण आफ्नो पहिचान लुकाइरहेका बेला २०१८ मै लेक्स लिम्बुले १७ मिनेट लामो भिडियो युट्युबमा राखेर आफू 'गे' भएको स्वीकारे । २८ वर्षीय चर्चित नेपाली ब्लगर लेक्स लन्डनमा आधारित युट्युबर र ट्रेसिङ्नेपाल नामक संस्थाका संस्थापक पनि  हुन् ।

नेपाल र बेलायतमा मात्र नभई धेरै देशमा लेक्सका फ्यान फलोअर्सहरु छन् ।  उनी नेपालको संस्कृति, रीतिरिवाजलाई प्रायः आफ्नो भिडियो र ब्लगमा प्रयोग गर्छन् । उनी लामो समयदेखि एलजिबिटिआई अधिकारका लागि लडिरहेका छन् । 

४. सुनीलबाबु पन्त, पूर्व सभासद् 
पछिल्लो समय गुमनाम भए पनि होला सुनीलबाबु पन्तले तेस्रोलिंगी समुदायलाई गरेको योगदानको कदर जति गरे पनि सकिँदैन । यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनील नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका २ सय ७८ जनामध्येमा एक थिए ।

तेस्रोलिंगी पहिचानसहित संविधानसभा सदस्यमा निर्वाचित हुने उनी पहिलो व्यक्ति हुन् । उनले समलिंगी हक अधिकारका लागि ब्लू डाइमण्ड सोसाइटी नामक संस्था संचालन गरेका थिए ।

५. भूमिका श्रेष्ठ , मोडेल
बेलायती संस्था अपोलिटिकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली हुन्, भूमिका श्रेष्ठ । तेस्रोलिंगी समुदायको हक, अधिकारको विषयमा आवाज उठाउँदै आएकी श्रेष्ठ एक ट्रान्सजेन्डर अभियन्ता, मोडेल, लेखक र अभिनेत्री हुन्, जो नेपालमा ट्रान्सजेन्डर आन्दोलनको एक प्रमुख आवाज बन्न सकेकी छन् ।

एक ट्रान्सजेन्डर महिला उनी एलजिबिटिआई समुदायविरूद्ध भेदभाव हुने कानुनह परिवर्तन गर्ने, नयाँ कानुन बनाउन सरकारलाई सल्लाह सुझाव दिने काम गर्छिन् । लामो समयसम्म गैरसरकारी संस्था ब्लू डायमन्ड सोसाइटीसँग मिलेर तेस्रोलिंगी समुदायको संगठन विस्तारमा सक्रिय उनले राहदानीमा पहिचानसहितको लिंग समावेश गर्नका लागि अभियान पनि चलाइन् । उनी पहिलो नेपाली नागरिक हुन् जसले देशको कानुनी मान्यताप्राप्त पहिचानसहितको 'तेस्रोलिंगी' चिह्नित राहदानी र कागजातहरूको साथ यात्रा गरिन् ।

६. मेघना लामा, मोडल-व्यवसायी 
सन् २०१० मा 'मिस पिंक नेपाल' विजेता मेघना तेस्रोलिंगी मोडल र सफल रेस्टुरेन्ट व्यवसायी हुन् । उनले थुप्रै फेसन सोहरुमा भाग लिनुका साथै विजेता पनि भएकी छन् ।

समाजले आफूप्रति गरेको भेदभाव र घृणालाई शक्तिका रुपमा लिएर उनी हिँडिरहेकी छन् । उनले पिंक टिफानी रेस्टुराँ एन्ड बार नामक रेस्टुरेन्ट खोलेर तेस्रोलिंगी पनि कोहीभन्दा कम हुँदैनन् भनेर देखाइसकेकी छन् । यो तेस्रोलिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बार हो । सामाजिक तथा पारिवारिक रूपले समेत बहिस्कृत रहँदै आएका समलिंगी र तेस्रोलिंगीहरूका लागि लक्षित यो बारले धेरैलाई रोजगारी पनि दिएको छ । 

७. सोफी सुनुवार, मेकअप आर्टिस्ट
नई रामलक्ष्मी पुरस्कारबाट सम्मानित भैसकेकी तेस्रोलिंगी सोफी सुनुवार ग्ल्यामर क्षेत्रमा नेपालको टप मेकअप आर्टिस्ट हुन् । उनी निकै संघर्ष र मेहनत गरेर यो ठाउँसम्म पुगेकी हुन् ।

'रिभिल हेयर स्टुडियो' नामक पार्लरले उनलाई सफल व्यवसायीको दर्जा पनि दिएको छ । उनी थुप्रै नेपाली चलचित्र र अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध भएर काम गरिरहेकी छन् । 

८. अनुपम श्रेष्ठ, नृत्यांगना
नृत्य कलामा माहिर अनुपम श्रेष्ठ  नेपाली चलचित्र जगतमा चिनिएको अनुहार हो । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनुपमले धेरै वर्षदेखि तेस्रोलिंगीहरुको हकहित र अधिकारका लागि आफ्नो समय दिइरहेकी छन् ।

आफ्नो पहिचान नलुकाई सधैं आफ्नो चाहना अनुसार अघि बढिरहेकी छन् । अनुपमले आफ्नो सामाजिक संजालबाट पनि जनचेतनाका भिडियो पोष्ट गरेर दुःखमा परेकालाई सहयोग गर्छिन् ।