काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकपमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नयाँ सरकार गठन हुनसक्ने बताएका छन् । प्रचण्डले यसअघि नै सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन आतुर रहेका प्रचण्डले यस्तो बताउँदैगर्दा देउवा भने मौन बसेका छन् ।
ओली नेतृत्वको सरकारको विकल्प खोज्दै गरेका प्रचण्डले आइतबार चितवन पुगेर नयाँ वर्षसँगै सरकार परिवर्तनको संकेत गरेका छन् । वर्तमान सरकार दीर्घकालीन रूपमा अगाडि जान कठिन रहेको बताउँदै उनले नयाँ वर्षसँगै मुलुकले नयाँ निकास ल्याउने विश्वास व्यक्त गरे ।
‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा देखिइराखेको,’ माओवादी अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण कुनै पनि सम्भावना छ ।’ प्रचण्डले घटनाक्रमका आधारमा देश नयाँ दिशातर्फ जानसक्ने उल्लेख गर्दै थपे, ‘पछिल्लोपटक घटनाक्रमहरू नयाँ भए, यो मैले केही नयाँ अनुभवसहित भनेको हो, मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’
सरकारप्रति जनआक्रोश बढ्दो रहेको बताउँदै उनले सरकारमा रहेका दलहरूसमेत सडकमा देखिन थालेको बताए । यसअघि उनले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत गरेका थिए । नयाँ सरकार बन्ने बताए पनि उनले नयाँ गठन हुने सरकारमा माओवादी केन्द्र सहभागी हुने ’boutमा औपचारिक निर्णय भने नगरेको बताए ।
प्रचण्डले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको उच्च स्रोतको दाबी छ । नयाँ गठन हुने सरकारमा सहभागी भएर वा नभई पनि माओवादी केन्द्रले सहयोग गर्न तयार रहेको प्रस्ताव देउवालाई प्रचण्डले गरेका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित साना दलको गठबन्धन सरकार अहिले छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । ८ महिनाअघि दुई दलका बीचमा भएको सातबुँदे सहमतिका आधारमा बनेको ओली सरकारप्रति कांग्रेसकै शीर्ष नेताको असन्तुष्टि रहेको छ । संसद्को बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कांग्रेस र एमालेको छ ।
एमालेको समर्थनमै सरकारको नेतृत्व गर्न पाउने निश्चित हुँदाहुँदै पनि प्रचण्डले यस्तो प्रस्ताव गर्दैगर्दा देउवा किन मौन बसेका भन्ने ’boutमा समेत राजनीतिक वृत्तमा चासोका साथ हेरिँदै छ ।
कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू ओली सरकारप्रति असन्तुष्ट छन् । सोहीबीचमा प्रचण्डको यस्तो अभिव्यक्ति आउनु र देउवा मौन बस्नुले सत्ता समीकरण परिवर्तन हुन लागेको बुझाइ पनि छ ।
ओलीअघि कांग्रेसकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका प्रचण्डले सरकारबाट बाहिरिएपछि सरकार बनाउने र गिराउने खेलमा आफू नलागी पार्टी संगठन निर्माणमा लाग्ने उद्घोष गरेका थिए । तर, जनतासँग माओवादी तराई मधेश अभियान होस् वा अन्य सार्वजनिक कार्यक्रममा प्रचण्डले सरकारविरुद्ध आक्रोश पोख्दै आलोचना गर्दै आएका छन् ।
सरकारकै कारण सडकमा जनआक्रोश बढेको र राजावादीहरूको प्रदर्शनमा पनि सरकार नै दोषी रहेको निष्कर्षमा प्रचण्ड पुगेका छन् । प्रधानमन्त्री ओलीकै कार्यशैलीका कारण प्रतिगामी शक्तिहरूलाई मलजल भएको र उनीहरू सडकमा उत्रिएको निष्कर्ष निकालेका प्रचण्डले जतिसक्दो छिटो सरकार परिवर्तन गर्न खोजेका छन् ।
अब बन्ने नयाँ गठबन्धन सरकारलाई माओवादीले निःसर्त सघाउने प्रचण्डको रणनीति रहेको छ । परिवर्तनलाई आत्मसात गर्ने शक्ति भएकाले र १२ बुँदे समझदारीको पनि मुख्य शक्ति भएकाले कांग्रेस र माओवादीबीच सहकार्य आजको आवश्यकता भएको प्रचण्डको ठम्याइ छ ।
यसअघि प्रचण्डले शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय काठमाडौं पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा ओली नेतृत्वको सरकारको आलोचना गर्दै सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको बताएका थिए ।
राजधानी दैनिकबाट