म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भुगोलमा पर्ने अन्नपूर्ण हिमालको आधार शिविर जाने पर्यटकको चहलपहल सुरु भएको छ । गर्मी मौसम सुरु भएसंगै त्यस क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुको आधार शिविरमा चहलपहल बढेको हो । आरोहीहरुले आधार शिविर क्षेत्रमा एक सय भन्दा बढी टेन्ट टाँगेर बसेका छन् ।
आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरुको पनि आधार शिविरमा आगमन शुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए।
समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरु पनि आउन थालेका हुन् ।
पर्यटन विभागले पछिल्लो पटक गत मङलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच वटा समूहका ३० जना पुरुष र १२ जना महिला आरोहीले अनुमति लिएका छन् । बसन्त यामका लागि हालसम्म पाँच वटा हिमालका लागि ५८ जनाले अनुमति लिएका छन् ।
मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ ।
नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।