काठमाडौंमा पनि देखियो सलह, विज्ञहरुले दिए यस्तो सुझाव

काठमाडौंमा पनि देखियो सलह, विज्ञहरुले दिए यस्तो सुझाव

काठमाडौं । शनिबार नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखिएको छ । शनिबार तराईका विभिन्न जिल्लामा देखिएको सलह किरा आइतबार काठमाडौं उपत्यकामा पनि देखिएको विज्ञहरुले बताएका छन् । काठमाडौंको तकेर्श्वरमा एउटा-एउटा गरेर देखिएको छ । 

सलह किरा ललितपुरको प्युटारलगायतका विभिन्न स्थानमा देखिएको छ । नेपालमा प्रवेश गरेको सलहको झुण्ड सानो भएकाले सतर्क रहन तर धेरै नआत्तीन विज्ञहरुले सुझाव दिएका छन् । हिजै प्रदेश ५ सरकारले भने राति बास बसेका सलह किरा संकलन गरी बुझाएमा प्रतिकिलो २० रुपैयाँ दिने जनाएको थियो ।

सलह किरालाई अग्रेजीमा (लकस्ट) भनिन्छ । सलह त्यस्तो प्रकारको किरा हो यो उड्दा सुर्यको प्रकाश नै छेक्छ । धेरै मरुभूमि भएको स्थानमा यो किराको बढी प्रकोप हुन्छ । सलह किरा एक-अर्कामा झुम्दै बथान भएर उड्छन् । जहाँ एउटा बथानमा करिब ४ करोड भन्दा बढी किरा हुने गर्छन् । आजभन्दा ७० वर्षअघि नेपालमा सलह किरा देखिएको थियो ।

सलह किराले कुनै निश्चित बाली खाने भन्ने हुँदैन । यी किराले जहाँ हरियाली देख्छन् त्यही खाइदिन्छन् । जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्ने गर्दछ ।

सलह किराको बथानले करिब ३५ हजार व्यक्तिले एक दिनमा खाने खाना ३ देखि ४ घण्टामै सखाप पार्ने बताइन्छ ।