भारत-चीन विवादित सीमाको स्याटेलाइट तस्बिरहरू आयो, फेरि तनाव बढ्ने त्रास

भारत-चीन विवादित सीमाको स्याटेलाइट तस्बिरहरू आयो, फेरि तनाव बढ्ने त्रास

काठमाडौं । पछिल्ला स्याटेलाइट तस्बिरहरूले चीन-भारत निर्जन उच्च हिमाली मरुभूमिस्थित सीमा संघर्षस्थल नजिक चिनियाँ निर्माण संरचना देखाएका छन् । चीनले नयाँ संरचना थपेकाले विवादित इलाकामा थप द्वन्द्वको त्रास बढाएको विश्लेषकहरूले बताएका छन् ।

अमेरिकाको म्यासार टेक्नोलोजीको स्याटेलाइट इमेजरीले लिएका तस्बिरहरूले गल्वान नदीलाई नियालिएको टेरेसमा चिनियाँ संरचना देखिएको हो । भारतको लद्दाख क्षेत्र र चीनको अक्साई सिमानामा रहेको पहाडमा रहेको दुर्गम गल्वान घाटीमा गत हप्ता भारतीय र चिनियाँ सेनाहरूबीचको दोहोरो हानाहानमा २० भारतीय सैनिकको हताहती भएको थियो । 

भारतीय र चिनियाँ सैनिक कमाण्डरहरू एक हप्ता पहिले आआफ्ना अखडामा फर्कने कुरामा सहमत भए पनि चिनियाँ निर्माणले शान्तिको सम्भावना छैन भन्ने देखिएको छ । बेइजिङले झगडामा भारतीय सेनालाई दोष लगाउन छोडे पनि भारतीय मिडियाले चिनियाँ सेनाविरुद्ध अभियानै छेडिरहेका छन् ।

भारतले चिनियाँ संरचनाहरू निर्माण भएको क्षेत्र यी दुई आणविक शक्तिहरूको बीचको सीमा इलाका भएको जनाएको छ । चीनले लगभग ४३०० मिटरमा अवस्थित पूरै गल्वान उपत्यकालाई आफ्नो दाबी गरेको छ । स्याटेलाइट तस्बिरमा शिविरका पाल, थोरै टाढा पर्खाल वा ब्यारेकेडहरूसहित निर्माणाधीन एक नयाँ शिविर देखिएका छन् ।

चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा छेउमा घुसेको भारतीय आरोप छ । चीनले उक्त आरोपलाई अस्वीकार गरेको छ भने भारतलाई आफ्नो क्षेत्र भएको दाबी गर्दै त्यस क्षेत्रमा सडक नबनाउन आग्रह गरेको छ ।

भारत र चीनबीच सन् १९६२ र १९६७ मा विवादित सीमालाई लिएर लडाइँ भएको थियो । विश्लेषकहरूले कोरोनाभाइरसको महामारीबीच भारत र चीन दुवै आआफ्नो अवस्था मजबुत पारिरहेको जनाएका छन् ।  भारतीय सेनाका पूर्वप्रमुख दीपक कपूरले चीनसँगको सम्बन्धमा विश्वासको कमी रहेको बताएका छन् । 

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हू झिजिनले ट्विटरमा लेखेका छन्, 'पिपल्स लिबरेसन आर्मी (पीएलए) ले भारतीय पक्षलाई चिनियाँ जनताको दृढ संकल्पको एउटा पाठ सिकायो । पीएलएलाई नजिस्काऊ अन्यथा उनीहरूले भारी पाठ सिकाउनेछन् ।'