काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित, कुल संख्या ७४ पुग्यो

काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित, कुल संख्या ७४ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४-४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै उपत्यकामा संक्रमितको संख्या ७४ पुगेको छ ।  काठमाडौंमा ४६ जनामा कोरोना देखिँदा २२ जना निको भएका छन् । भक्तपुरमा २१ जना संक्रमित र तीमध्ये ५ जना निको भइसकेका छन् । ललितपुरमा ७ जना संक्रमित हुँदा १ जना निको तथा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।