काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।
यससँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । यसअघि गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् ।