काठमाडौं । कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस एडहानोमले अहिलेकै गतिमा संक्रमण फैलिए विश्वभर अक्सिजन दिने मेशिनको समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।
अहिले पनि कयौं देशले अक्सिजनको अभाव झेलिरहेको र केही समयपछि यो समस्या झनै बढ्ने उनको भनाइ छ । विश्वमा प्रत्येक दिन डेढ लाख बढि संक्रमित थपिने गरेका छन् । हरेक हप्ता करिब १० लाख संक्रमित फेला पर्ने गरेका छन् । यो जटिल परिस्थितीलाई ध्यानमा राखेर अक्सिजन उत्पादन गर्ने मेसिन बनाउनतर्फ ध्यान दिन डब्लुएचओले आग्रह पनि गरेको छ ।
विश्वमा प्रत्येक दिन ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६ दशमलब २० लाख क्युबिक मिटर अक्सिजन जरुरी देखिएको छ । तर सो माग अहिले पूर्ति हुन सकेको छैन । डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन दिने मेशिन गरेको छ । आगामी हप्ता ति मेशिन १ सय २० देशमा पठाउने योजना डब्ल्यूएचओको छ ।
विश्वभर संक्रमितको संख्या ९५ लाख ३२ हजार नाघेको छ । ४ लाख ८५ हजार बढीले ज्यान गुमाइसकेका छन् ।