सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच जनामा कोरोना संक्रमण भएको अस्पतालले पुष्टि गरेको हो ।
प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीको स्वाव परीक्षण गरिएको थियो । जसमध्ये पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए ।
‘पिसिआर परीक्षणका क्रममा ४२ जनामध्ये पाँच जनामा कोरोना पुष्टि भएको छ ।’ उनले भने, ‘कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको छ ।’
प्रदेश अस्पताल स्रोतका अनुसार संक्रमण देखिएकामध्ये ४ जना प्रयोगशालामा काम गर्ने स्वास्थयकर्मी र एक जना भने एक्सरे कक्षमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।