७६ जिल्लामा फैलियो कोरोना, पूर्ण लकडाउनको तयारी

७६ जिल्लामा फैलियो कोरोना, पूर्ण लकडाउनको तयारी

काठमाडाैं । पछिल्ला दिनहरुमा नेपालमा पनि कोरोना भाइरस आक्रमक देखिएको छ । पछिल्लो एक हप्तामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिएका छन् । गएको जेठ ३२ गतेसम्म ५ हजार ७ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता दिनहुँ सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । असार १ गते ४ सय ५१ जना, २ गते ३ सय ८०, ३ गते ५ सय ८६, ४ गते ६ सय ७१, ५ गते ४ सय २६, ६ गते ३ सय ३१ र हिजो ४ सय २१ जना थपिएका हुन् ।

योसहित नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ हजार नाघिसकेको छ भने ७६ जिल्लामा संक्रमण फैलिएको छ । रसुवाबाहेक देशका सबै जिल्लामा कोरोनाको प्रभाव देखिएको हो । यससँगै सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल गरिरहेको छ ।

विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले  पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको हो ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो । नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ ।