पासबिना उपत्यका भित्रिने सवारीका चालकलाई प्रहरीले गर्न थाल्याे कारबाही

पासबिना उपत्यका भित्रिने सवारीका चालकलाई प्रहरीले गर्न थाल्याे कारबाही

काठमाडौं । सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए ।

उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको छ । पक्राउ पर्नेमा बाँके नेपालगन्जबाट आउँदै गरेको बा. ४ ख ४५८० माइक्रो बसका चालक राहुल डबगर, ना. ७ ख ७३९५ बसका चालक रुद्रबहादुर खत्री, बा. ४ ख ७३७३ माइक्रो बसका चालक विकाश शर्मा र झापाबाट काठमाडौँं आउँदै गरेको ना. ५ ख ५८३४ बसका चालक राकेश शाक्य छन् ।

काठमाडौँ उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।