थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३५७ जना पुरुष र ६४ जना महिला गरी ४२१ जना नयाँ संक्रमित थपिएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जस्मध्ये पुरुष  ८ हजार २०६ जना र महिला ८२० जना रहेका छन् । नेपालका ७५ जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

आइतबार १९४ जना उपचारपछि निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको असार ५ गते घरमा नै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए। 

जेठ २५ गते उनी भारतमा उपचार गराएर नेपाल फर्किएका थिए। उनी प्यारालाइसिसका बिरामी भएको मन्त्रालयले जानकारी दिएको छ। असार ६ गते नेपाली सेनाको टोलीले उनको शवको अन्तिम संस्कार गरेको बताइएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ।