काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका ८३ वर्षीय बृद्धामा देखियो कोरोना, संक्रमण फैलन अब दुई जिल्लामात्र बाँकी

काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका ८३ वर्षीय बृद्धामा देखियो कोरोना, संक्रमण फैलन अब दुई जिल्लामात्र बाँकी

काठमाडौं । उच्च हिमाली जिल्ला मुस्ताङमा पनि कोरोना संक्रमित फेला परेका छन् । मुस्ताङमा पहिलो केस पुष्टि भएसँगै अब दुई जिल्लामा मात्र संक्रमण फैलन बाँकी छ । ७७ जिल्लामध्ये अब ओखलढुङ्गा र रसुवामा संक्रमित फेला परेका छैनन् । 

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार घरपझोङ गाउँपालिका १ छैरीको तिव्वतिउन क्याम्पमा बस्ने ८३ वर्षी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार उनी जेठ ३१ गते काठमाडौँ बौद्धबाट मुस्ताङ पुगेका थिए । 

आरडीटी परीक्षण पोजेटिभ देखिएपछि पीसीआर परीक्षण भउको थियो । पीसीआर पनि पोजेटिभ पाइएपछि हाल आइसोलेसनमा राखेर उपचार भइरहेको छ । पोखरामा उनको पीसीआर परीक्षण भएको हो । 

उनलाई जिल्ला अस्पताल जोमसोममा आइसोलेसनमा राखिएको छ । 

रक्तचापको नियमित औषधि सेवन गरिरहेका उनको दुबै आँखाको दृष्टि कमजोर रहेको र आफ्नो स्याहर गर्न नसक्ने अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । कोभिड पोजेटिभ देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको निर्देशनालयले जनाएको छ ।