कथा

एक्लो एन्थोनी

एक्लो एन्थोनी

'हाम्रो पुरानो घरको दाहिनेतिरको घरमा आज थुप्रै मान्छे जम्मा भएका रहेछन् । एम्बुलेन्स र पुलिसका गाडी पनि थिए ।'
'कसको घरमा ? एन्थोनीको !'

सुतिरहेका बेला आँखामा पानीका छिटा परेजस्तो भयो मलाई । छोराले टेनेसीबाट फोन गरेको थियो । हामी बोस्टन सरिसकेको भए पनि भ्यानडरविल्ट युनिभर्सिटीमा एक वर्ष काम गर्न छोरो टेनेसीमै थियो । व्रेन्टउडमा भएको टेनेसीको घर हामीले बेचिसकेका थियौँ । पाँच वर्ष बसेको घर अहिले अर्काको भए पनि सायद उसको संस्मरणमा आफ्नै लागेको थियो । शनिबार त्यो इलाकातिर साथीसँग ड्राइभमा जाँदा छोराले छिमेकीको आँगनमा अनौठो भेला देखेर मलाई फोन गरेको रहेछ ।

हाम्रो घरको दाहिनेतिर थियो एन्थोनीको घर । देब्रेतिरको घरमा को बस्छ ? पाँच वर्षसम्म पनि कहिल्यै थाहा भएन । त्यसो त देब्रेतिरको घर र हाम्रो घरको सिमानामा बार पनि थियो । हाम्रो घरको जस्तै एन्थोनीको घरवरिपरि पनि करिब सात–आठ रोपनीजति जग्गा थियो । त्यसैले लगत्तैको घर भए पनि दुई घरबीचको दूरी फराकिलो थियो । एन्थोनीको घर हाम्रोजस्तै ६० वर्ष पुरानो थियो होला । तर, घरवरिपरि उम्रिएको घाँस, सुकेका बुढा रुखहरु अनि रङ खुइलिएका भित्ताहरु देख्ता त्यो घर धेरै पुरानो लाग्थ्यो । भित्ताको रङ सेतो र पहेँलोको बीचमा थियो । कतै कतै रङ खुइलिएको ठाउँमा सेतो मात्र पनि देखिन्थ्यो । कुनै समय त्यो घरको रङ सेतो मात्र थियो भन्न गाह्रो थिएन । 

धेरै पुरानो भएर घरको ढोका राम्रोसँग बन्द हुन पनि गाह्रो परेजस्तो लाग्थ्यो । घरको पेटीको दुवै छेउमा भएका गोब्रेसल्ला आदि बढेर घरको उचाइको आधा छोपेका थिए । सुकेका लहराहरु घरको भित्ताभरि बुढाबुढीको खुट्टाका नसाजस्तै फैलिएका थिए । पछाडिको आँगनमा अलिकति बढाएर घाम ताप्ने ठाउँजस्तो ‘सन रूम’ बनाएको रहेछ । अहिले त्यो ठाउँ देख्दा वर्षौंअघि नै घरपटीहरु बसाइँ सरिसकेजस्तो लाग्थ्यो । त्यो ठाउँ थोत्रो सामान फ्याँक्ने रछ्यानजस्तै देखिन्थ्यो । त्यहाँ एन्थोनी छ भनेर थाहा नहुनेलाई त त्यो घरको आँगनमा टेक्नेबित्तिकै कुनै भूतप्रेतको उपस्थितिको आभास हुन्थ्यो । 

टेनेसीको पाँचवर्षे बसाइमा त्यही छिमेकी एन्थोनी मेरो जीवनको अविस्मरणीय हिस्सा भएको थियो । ऊ सङ्ग्रहालयमा राखेको पुरातात्विक म“र्तिजस्तो लाग्थ्यो मलाई । एन्थोनीको उमेरसम्म जीवित नभएका हजुरबा, बा, काका, ती सबैको प्रतिरुप लाग्थ्यो । उनीहरु सबैलाई म एन्थोनीको उमेरसम्म जीवित बनाउँथेँ मनमनै । 

टेनेसीबाट बोस्टन सरेको झन्डै एक वर्ष बितिसक्दा पनि एन्थोनीलाई बीचमा कैयौँ पटक सम्झिएकी थिएँ । तर, एक पल्ट पनि फोन गरेकी थिइनँ । टेनेसीको सराइ आकस्मिक अनि कष्टप्रद भएकाले टेनेसीसँग आबद्ध सबै पक्षलाई मैले सम्झनाको सतहमा तैरिनबाट रोक्न खोजेकी थिएँ । यति टाढाबाट एन्थोनीलाई फोन गरेर 'नजिकै छु' को झूटो आश्वासन दिने मन पनि मलाई भएन ।

छोराको फोनले एन्थोनी मेरो मनमा नमीठोसँग बिझायो । व्रेन्टउडको घर मेरो अगाडि ठिङ्ग उभियो ।
'थ्याङ्क गड ! यु आर स्टिल हियर (तिमीहरु धन्न अझै यहीँ रहेछौ) । तिमीहरुको घर अगाडि पार्क गरेको ठूलो ट्रकले त मेरो सातो नै लिएको थियो,' हाम्रो आँगनमा युहल ट्रक देखेपछि आत्तिएर एन्थोनीले फोन गरेको थियो ।

'मैले तिमीलाई फोन गर्ने हिम्मत नभएर केही नभनेको एन्थोनी । हामी वास्तवमा बोस्टन सर्दै छौँ,' मैले सहज भावले जवाफ दिएकी थिएँ । 
त्यसबाट एन्थोनीमा पर्ने असहज असर मेरो अनुमानभन्दा गह्रौँ थियो ।

'तिमीहरु त्यसो गर्न सक्दैनौ । म त अब साँच्चै एक्लो हुने भएँ,' उसको स्वर रुन्चे थियो । 'अब म कसको सहाराले बाँच्ने ? यहाँ तिमीहरु हुँदा मलाई बाँच्ने ठूलो सहारा भएको थियो । ममाथि यस्तो अन्याय कसरी गर्न सक्छौ र ?' एन्थोनीको बोलीसँग अब पूरै रुवाई मिसियो । 'तिमी त मेरी आफ्नै बहिनी,' यो वाक्यसम्म आइपुग्दा एन्थोनी अनाथ बालकजस्तो सुनियो ।

'म तिम्रो बहिनी हैन । म बहिनी भएको भए यसरी यो अवस्थामा आफ्नो दाजुलाई छाडेर कसरी टाढा जान सक्थेँ र ? म त खालि छिमेकी मात्र हुँ,' एन्थोनीले कति सुन्यो, कति बुझ्यो, थाहा भएन । मैले उसलाई रुखो वाक्यले जवाफ दिएजस्तो गरे पनि भित्रभित्रै ग्लानि अनुभव भयो । बोली ननिस्किने गरी घाँटीमा केही अड्कियो ।
'तिमी त मेरी अक्सिजन हौ, मेरी आफ्नै बहिनी,' उसले फोन राखेन ।

मलाई अक्सिजन र एकमात्र बहिनी ठान्ने एन्थोनी मलाई भने मायालाग्दो एक्लो छिमेकीभन्दा अलिकति बढी मात्र लागेको थियो । पछि ऊसँग केही नजिकिएपछि बालाई त्यही उमेरको कल्पना गरेँ र उसमा बाको स्वरुप देख्न थालेँ । त्यसपछि ऊप्रति आदर र सहानुभूति बढ्न थालेको थियो । यहाँको अत्यन्त औपचारिक परिपाटीसँग परिचित भइसकेकाले एन्थोनीसँग मैले चाहेर पनि बढी सम्पर्क बढाइनँ । मेरो मनले अह्राएअनुसार उसको हेरविचार पनि गरिनँ । उसले असल छिमेकीभन्दा बढी अझ आफ्नै बहिनीजस्तो ठान्ने गरेको थाहा भएको भोलिपल्टै म बोस्टन सरेकी थिएँ । टेनेसीबाट धेरै टाढा । 

मलाई उसले अन्य छिमेकीभन्दा पनि आफन्त मान्ने गर्थ्र्यो भन्ने मात्र थाहा थियो । बहिनी–छोरी के मान्थ्यो, थाहा पनि थिएन । मलाई बाको झझल्को दिने गरेको उसलाई थाहा पनि थिएन । उसको उमेरको छेउ पनि नछोई दिवंगत बुबालाई म कल्पनामा एन्थोनीको उमेरसम्म जीवितै राख्ने समेत गर्थें । यो अर्थले मात्र एन्थोनी मेरो मनको नजिक थियो । तर, एन्थोनीलाई यो कहिल्यै थाहा दिइनँ । त्यो थाहा भएको भए एन्थोनीले के भन्थ्यो होला ? म अहिले सोच्छु ।

टेनेसीसँगै छुटेको एन्थोनी छोराको फोनले फेरि मेरो संस्मरणको सतहमा उत्रियो । बाको सम्झनाले मेरो अन्तर फेरि चह-यायो । झन्डै वर्षदिनदेखि नसम्झिएको एन्थोनी नाम मात्र हैन, एन्थोनीको जीवन किताब नै मेरो सामु उघ्रियो ।

'के भएको रहेछ ? गएर बुझ र मलाई तुरुन्तै फोन गर है बाबु,' मेरो आवाज निकै आत्तियो ।
'आई विल ट्राई मम,' छोराको जवाफ सामान्य स्वरमा थियो ।
म मनमनै टेनेसी र एन्थोनीको घरसँगैको आफ्नै घर पुगेँ ।
'वेलकम टु द नेबरहुड (हाम्रो छिमेकमा स्वागत छ) ।'

हामी त्यो घरमा सरेको भोलिपल्ट एन्थोनीको फोनले मलाई झस्काएको थियो । कसको फोन भन्दा पनि कसरी उसले हाम्रो फोन नम्बर थाहा पायो भन्ने कुराले चिन्तित बनाएको थियो । एन्थोनी को हो ? कुन घरमा बस्छ ? केही पनि थाहा थिएन । तैपनि विरानो मुलुकको नयाँ स्टेटमा भर्खर सरेको घरको छिमेकीले गरेको स्वागत रमाइलो लागेको थियो । 
काठमाडौँ, अझ साठीको दशकको लागुपदार्थ प्रयोगको काठमाडौँको कुरा गर्यो उसले । नेपाली दालभात, हिमाल, बुद्ध यस्तै–यस्तै कुराले एकैछिन अगाडिको पराई एन्थोनी आफन्त भएको थियो । म र मेरो इतिहास सकिएपछि उसको जीवनकथामा त्यो पहिलो फोनको कुराकानी टुङ्गिएको थियो ।

बाबुआमा ग्रिक मूलका भए पनि ऊ अमेरिकामै जन्मिएको रहेछ । उसको एक जना वयस्क छोरा पिटर र छोरी सेरा फ्लोरिडामा रहेछन् । ती छोराछोरी एन्थोनीकी पत्नी जेनीको पहिलो पतिबाट रहेछन् । वैधानिक रुपले आफ्नै भइसके पनि ती छोराछोरीले बाबुलाई जस्तो व्यवहार नगरेको ठान्दो रहेछ एन्थोनी । विगत १८ महिनादेखि छोराछोरीको निर्णयमा जेनी फ्लोरिडाकै कुनै मानसिक अस्पतालमा बस्दिरहिछन् ।

जेनीले मानसिक अस्पतालमा बस्नु परेको तथ्यले एन्थोनीको जीवन सबैभन्दा दुखेको थाहा पाउन मलाई त्यो छोटो फोनवार्ता काफी भयो ।
प्रारम्भमा आफूले राखेको सामान कहाँ छ बिर्सिने अनि पछि ठाउँका नाम बिर्सिंदै जेनीले हुँदाहुँदा मान्छेका नामहरु बिर्सिने गरेकी थिइन् अरे । केही समयपछि अरु थुप्रै कुरामा अल्मलिन थालेकी रहिछन् ।

अरु एक–दुई पल्ट फेरि एन्थोनीसँग मेरो कुरा भयो । जेनीलाई घरमा ल्याएर राख्ने या फ्लोरिडामा मानसिक रोगीको संस्थामा राख्नेबारे एन्थोनी र उसका  छोराछोरीबीच वैधानिक लडाइँ नै रहेछ । 

'जेनीलाई म को हो भनेर सोध्दा मेरो बाबु होस् भन्छे । केही बेर कुरा गरेपछि जब म ग्रिक भाषामा बोल्न थाल्छु, तब मेरो लोग्ने होस् भन्छे,' जेनीबारे एन्थोनीले एक दिन मसँग भनेको थियो । हिजो गरेको कुरा भोलि सोध्दा जेनी केही पनि सम्झिन्न अरे । एक दिन एन्थोनीले भारतीय र चिनियाँ खाना मीठो लाग्ने कुरा गरेको थियो । ऊ निकै वर्षसम्म अमेरिकी वायुसेनाको पाइलट रहेछ । साठी–सत्तरीको दशकमा हिप्पी, लागुपदार्थ र काठमाडाैं धेरै सुनेको कुरा उसले मसँग फेरि ग-यो । भारत, पाकिस्तान, चीन आदि मुलुक एन्थोनी एकपल्टभन्दा बढी गएको पनि रहेछ । एन्थोनीले अमेरिकी सिनेमाका पुराना कलाकारलाई भेटेको कुरा गर्दा म अचम्मित भएकी थिएँ ।

छोराले टेनेसीबाट अझै फोन गरेको छैन । मेरो मन भने बोस्टनबाट टेनेसी पुगिसकेको छ ।  

फोनमा निकै पटक कुरा भएको भए पनि एन्थोनीलाई पहिलोपल्ट हामीले हाम्रै घरमा देखेका थियौँ । एन्थोनीले मसँग फोनमा धेरै पटक नेपाली खाना मन पर्छ भनेको थियो । एक दिन हामीले एन्थोनीलाई घरमा डिनर खान बोलायौँ । फोनमा कुरा गर्दा सामान्य लाग्थ्यो उसलाई । त्या दिन पुरानो कालो टोयटा कोरला गाडी हाम्रो गराजअगाडि पार्क गरेपछि मात्र उसको शारीरिक स्थिति थाहा भयो ।

मे महिना त्यति गर्मी लागिसकेको थिएन । दुई दिनदेखि परेको पानी थामिएर आकाश उघ्रिएको थियो । घरवरिपरिको घाँस अघिल्लो दिन मात्र कटाएका थियौँ । एन्थोनीकै सल्लाह अनुसार उसको घाँस काट्तै आएको मान्छेलाई हामीले पनि घाँस काट्न लगाएका थियौ । भर्खर काटेको घाँसको गन्ध आलै थियो ।

करिब ८० नाघेको एन्थोनी छ फिट अग्लो र करिब तीन सय पाउन्डभन्दा बढी तौलको देखिन्थ्यो । ऊ शारीरिक रुपले निकै अशक्त रहेछ । ह्विलचेयरको सहायताले मात्र हिँड्न सक्ने एन्थोनीलाई गाडीबाट निस्किन झन्डै १५ मिनेट लागेको थियो । ठूलो निधार, ठूलठूला आँखा, उज्यालो अनुहार भएको एन्थोनी जवान हुँदा निकै खाइलाग्दो थियो भन्न सजिलै सकिन्थ्यो । सेतो सर्ट, कालो पाइन्ट, खैरो स्वेटर, कालो जुत्तामा एन्थोनी कुनै औपचारिक पार्टीमा जान तम्तयारजस्तो देखिएको थियो । उसको खुट्टामा जुत्ता भने बलैले अटाएका थिए । हातखुट्टा सुन्निएको अनुमान गर्न त्यति गाह्रो थिएन ।

ग्रिक मिठाई (बक्लवा) कोसेलीसमेत लिएर आएको थियो एन्थोनी । हाम्रो डाइनिङ कुर्सीमा ऊ बलैले अटायो । वर्षौंदेखि अघाउन्जेल खाना खान नपाएजस्तै गरेर खाना थपीथपी चाटीचुटी पारेर खाएको देखेर हामी सबैले मुखामुख ग-यौँ । उसले पत्नी जेनीको खुबै कुरा गर्यो । जेनीलाई अल्जाइमर लागेको यथार्थ स्वीकारे पनि आफूबाट उसलाई टाढा राखिएकामा छोराछोरीसँग साह्रै चित्त दुखेको धेरै पटक बतायो ।

आवेशमा आएर खुबै रोयो पनि । त्यति विशाल कायाको वृद्ध त्यसरी बालकजस्तो रोएको मैले कहिल्यै देखेकी थिइनँ । सँगै रुने हो कि के गर्ने भनेर म अलमल्ल परेँ । मेरा श्रीमान् र छोराछोरीले एकैचोटि मतिर हेरे । वास्तवमा त्यसअघि एन्थोनीसँग परिचित म मात्रै थिएँ ।

भोलिपल्ट फोन गरेर खानाका लागि कृतज्ञता व्यक्त गर्दै हामीलाई केही चाहिए सहयोग गर्न सक्ने समेत बतायो । 'जोगीको घरमा सन्न्यासी पाहुना' भनेजस्तै अनौठो अनि अलिकति सतर्क पनि बनायो उसको वाक्यले । हामीले पनि त्यसै भन्नुपर्ने हो कि जस्तो लाग्यो । उसलाई हामीले कस्तो सहयोग गर्नुपर्ने होला भन्ने शङ्का ढक्क आङ्मा फुल्यो ।
'तिमीले मलाई ठूलो सहयोग गर्नुपर्यो, त्यसका लागि जति पनि मूल्य दिन तयार छु, मेरो जीवनका लागि यो साह्रै बिर्सिन नसक्ने गुन हुनेछ ।'  नभन्दै एन्थोनीको फोन आइहाल्यो । गर्मी छिप्पिनु अगाडि अर्थात् मध्य जुन । बिहान साढे १० बजेतिर आएको त्यो फोनले भने मलाई त्यति हर्ष थपेन । शङ्काउपशङ्का उम्रिन थाले शरीरभरि । तीन दिन पनि बितेको थिएन एन्थोनी हाम्रो घरमा डिनर खान आएको ।

'के कस्तो सहयोग हो ? मैले गर्न मिल्ने र सक्ने त म गर्छु नि,' मेरो ओठबाट यति मात्रै झरेको थियो ।
'जेनीलाई घरैमा हेरचाह गर्न एन्थोनी समर्थ छ..., तिमीले यस्तो कागजमा सही गरिदियौ भने म जेनीलाई मानसिक अस्पतालबाट छुटाएर घरमै ल्याउन सक्छु ।'
एन्थोनीको स्वर भावुक भए पनि यसले उसको आत्मविश्वास बोकेको थिएन । तीन दिनअगाडि एन्थोनीलाई प्रत्यक्ष देख्ने अनुकूल परेकोमा धन्य सम्झिएँ आफैँलाई ।
'मेरा श्रीमान्सँग सल्लाह गर्नुपर्छ,' अब म छुटकारा पाउने बाटो खोज्न थालेँ ।

डेढ दशकदेखि अमेरिका र यहाँको कानुनबारे अनभिज्ञ भएको भए मख्ख परेर सायद एन्थोनीको आग्रह स्वीकार गरिसक्थेँ होला । तर, मैले एन्थोनीलाई यस मामिलामा सहयोग गर्नु भनेको आफूलाई कानुनी रुपले गहिरो खाडलमा हाल्नु थियो ।

त्यसपछि मैले एन्थोनीलाई आफैँ फोन गर्न छोडेँ । सायद उसले पनि कुरा बुझेको हुनुपर्छ । तर, केही समयपछि एन्थोनीले फेरि पहिलेजस्तै फोन गर्न थालेको थियो । त्यस्तो केही अपेक्षा गरेन भने त मलाई पनि उसको नजिक हुन कुनै असजिलो थिएन ।

एम्बुलेन्स र पुलिसको गाडी एन्थोनीको घर छेउमा पहिले धेरै पटक देखिसकेकी थिएँ मैले । अहिले छोराले एम्बुलेन्स र पुलिसको गाडी उसको आँगनमा देखेको पनि त्यस्तो नौलो समाचार त थिएन । तर, आफू टाढा भएर होला, अहिले चाहिँ एन्थोनी साँच्चै साह्रै भएछ लागेको हो ।

'म अहिले भ्यानडरविल्ट मेडिकल सेन्टरको बेड नम्बर ४३ मा छु ।' 
एक दिन राती ११ बजे एन्थोनीको फोन आयो । कहिलेकाहीँ यसो हेलो भन्ने छिमेकीभन्दा नजिक नठानेको एन्थोनीको सबैभन्दा आफन्त हामी नै रहेछौँ । त्यसले आश्चर्य र नरमाइलो एकैचोटि लागेको थियो । एन्थोनीका कोही अरु आफन्त थिए जस्तो लागेन । ८० वर्ष नाघिसकेको एन्थोनीका धेरै आफन्त दिवंगत भइसकेको हुनुपर्छ । 

कहिलेकाहीँ अलिक धेरै खाना पकाएको दिन म एन्थोनीलाई खाना लगिदिने गर्थें । साह्रै खुसी हुने गर्थ्र्यो । उसको घरभित्र पूरै भने म कहिल्यै पसिनँ । नखोलेका विभिन्न आकार र आयतनका बाकस उसको घरभरि खात लागेका देखिन्थे । ढोकाको कापबाट देखिने सबै ठाउँनै कुटका बन्द बाकसले खचाखच देख्ता कोही भर्खरै कतैबाट सरेजस्तो पनि लाग्थ्यो । ३० वर्षदेखि त्यहाँ बस्दै गरेको एन्थोनीको यथार्थसँग यो दृश्य पटक्कै मेल खाँदैनथ्यो । बाकसको थुप्रो झन्डै माथि दलिनसम्म अग्लिएको थियो । सामाजिक संस्थाबाट अशक्तहरुलाई बाँडिने ‘मिल्स अन द ह्विल्स’ खानामा निर्भर एन्थोनीले यस्तो धेरै नयाँ सामान झिकाउने पैसा कसरी पाउँछ होला ? मसँग सोध्ने हिम्मत भएन । मेरो उत्सुकता मसँगै रहने गथ्र्यो ।

एक्लो एन्थोनी आठ दशक नाघिसकेको साथै अशक्त र मानसिक रुपले विक्षिप्त देखेर हामीले ऊप्रति केही बढी सहानुभूति मात्रै राखेका थियौँ । हामी भन्दा विशेषगरी मैले । मानवीय नाताभन्दा एक खुट्किलो मात्र अग्लो थियो त्यो नाता । एन्थोनीका लागि सिङ्गो परिवार नै हामी मात्र रहेछौ ठान्नु पर्दा अनौठो भन्दा पनि विडम्बना लाग्थ्यो । हामी नै उसको परिवार थियौँ । सायद एन्थोनीको मनले त्यही पत्याएको थियो । 'कोही छैनन्' को सट्टा 'कोही छन्' ले उसको मन निर्धक्क भएको थियो होला । केही बोझ पनि अनुभव भयो । पैसा प्रशस्त जम्मा गरेको भए पनि सन्तानको सट्टा पैसाप्रतिको आसक्तिले पैसा खर्च गर्नभन्दा सित्तैँमा कहाँ कहाँ के–के पाइन्छ, कहाँकहाँबाट निःशुल्क सुविधा र सहयोग पाइन्छ, मा ध्यान दिँदो रहेछ ।

'एन्थोनीलाई एम्बुलेन्समा अस्पताल लगेको अरे । अब घर फर्किंदैन अरे । त्यसैले उसको ज्वाइँले उसका सामान र घर सबै बिक्रीमा राखेको रहेछ । उसका सामान घरअगाडिको चौरभरि छन् बिक्रीमा ।'

छोराको फोन आयो फेरि भोलिपल्ट । मेरो मन अमिलो भयो ।
धेरै पटक एन्थोनीको सम्झना आएर पनि यहाँ सरेपछि एक पल्ट पनि फोन नगरेकामा ठूलो ग्लानि भयो । उसलाई के भयो होला ? अस्पतालबाट फर्किएर नआउनेबारे उसलाई थाहा होला कि नहोला ? मनभरि उत्सुकता चल्मलाए । एन्थोनी केही गरी ठीक भएर अस्पतालबाट आयो भने उसको घर अनि सबै सामान बिक्रीमा या बिक्री भइसकेको देख्ता उसलाई कस्तो लाग्ला ? म सोच्न थालेँ । जेनीको अवस्था अहिले कस्तो होला ? जेनीले पछिल्लो पल्ट एन्थोनीसँग कहिले कुरा गरेकी होला ? यस्ता थुप्रै प्रश्न मेरो दिमागमा असिनाजस्तै बर्सिन लागे ।

एन्थोनीलाई एक पल्ट फोनमा कुरा गर्न म व्यग्र भएँ । मनभरि बादल लाग्यो । एन्थोनीको अस्पतालको फोन नम्बर अनि उसको कोठा र बेड नम्बर माग्न छोरालाई फेरि अह्राएँ ।
'मैले एन्थोनीको ज्वाइँसँग पनि कुरा गरेँ । उसले एन्थोनीको बारेमा निकै नराम्रो कुरा गर्यो,' छोराले भन्दै गयो, 'लोभी, ढाँट, कानुन मिच्ने थियो अरे एन्थोनी । मलाई त तपाईंले ऊसँग कुरा नगर्नु राम्रो होला जस्तो लाग्छ ।' छोराको आवाजमा अनुरोध मिसिएको थियो ।

'बाबु, मलाई एन्थोनीको फोन मागिदेऊ, मृत्युशय्यामा भएको मान्छेले मलाई के हानि गरिहाल्ला र ?' छोरालाई जवाफ दिएँ । मेरो स्वरमा पनि अनुरोध नै मिसिएछ ।

एन्थोनी कता हो कता, असल थिएन होला भन्नेमा निश्चित भए पनि उसको ज्वाइँले लगाएका सबै आरोप पत्याउन मन लागेन । यतिका वर्ष कहिल्यै देखा नपरेर अहिले 'एन्थोनी अस्पतालबाट नफर्किने गरी गम्भीर बिरामीु भन्ने सुन्नेबित्तिकै फ्लोरिडादेखि आएर भोलिपल्टै सबै सामान र घर बिक्रीमा राख्ने ज्वाइँको मुखबाट मात्र सुनेर एन्थोनीबारेको नकारात्मक कुरा पत्याउन मलाई गाह्रो भयो । तर, मैले चिनेको एन्थोनीबारे अलिकति सोच्न बाध्य पनि भएँ । उसको घरभरिका खचाखच भरिएका बन्द बाकसहरु, उसको घरमा डेलिभरी लिएर सधैँ आउने हुलाकको गाडी आदि सबै सम्झिन थालेँ । उसले अमेरिकी कानुनविपरीत मलाई दिएका सुझावहरु, उसले मद्दत गरिदिनु भनी गरेका आग्रहका प्रकृति सबै बिस्तारै अर्थमूलक लाग्न त मलाई पनि थालेको थियो । मैले जति मात्रामा एन्थोनीलाई चिन्न पाएँ, सायद त्यति नै पर्याप्त थियो होला । जति नजिकिएँ, त्यति नै उपयुक्त थियो होला । जेनीको कुरामा उसलाई सहयोग नगरेकामा ग्लानि कम भयो ।

'मैले एन्थोनीको फोन पत्ता लगाउन सकिनँ । एन्थोनीका सबै सामान र घर बिक्रीमा राखेको कुरा एन्थोनीलाई थाहा छैन अरे । केही गरी त्यो थाहा पायो भने ठूलो चोट पर्ने भएकाले कसैले पनि एन्थोनीसँग सम्पर्क नराखुन् भन्ने विचार ज्वाइँको रहेछ ।' मेरो जवाफ नपर्खीकन छोराले फोन राखिदियो । मैले एन्थोनीबारे खोजी नगरोस् भन्ने छोरालाई लागेको हुनुपर्छ ।

एन्थोनीसँग सम्पर्क राख्ने इच्छा झन् बढ्न थाल्यो । ऊबारेको उत्सुकता चुलिन थाल्यो । टेनेसीकै एक जना साथीलाई फोन गरेर सबै अस्पतालमा एन्थोनीबारे पत्ता लगाउन अनुरोध गरेँ । उसले पनि सकेसम्म प्रयास गरी तर केही पत्ता लागेन । सायद ज्वाइँले एन्थोनीसँग कसैलाई सम्पर्क राख्न नदिनु भनेर अस्पतालमा भनेको थियो होला । अस्पतालको नियमले बिरामीका आफन्तको निर्णयलाई गम्भीरतापूर्वक लिने गर्छ । त्यसैले म गैरआफन्तले सम्पर्क गर्न सकिनँ । 

अब त दुई वर्ष बितिसक्यो एन्थोनीको कुरो । एन्थोनीको धेरै अगाडि नै स्वर्गे भइसक्यो होला । अझै अस्पतालमा भइरहेको भए पनि थुप्रै समय बितिसक्यो । आफ्नो घर, घरभरिका सामान, सबै सम्पत्ति केही पनि बाँकी नरहेको उसलाई थाहा समेत नहोला । एक–एक गरेर जीवनभरि जोडेका सामान ? मेरो मन अमिलिन्छ । 

वैराग्यले चस्स घोच्छ । रगत–पसिना एक गरेर ठड्याएको घर । ३० वर्षमा बल्ल ऋणमुक्त भएको थियो होला । त्यो घर अहिले उसको रहेन । उल्टो पारेर सुकाएको खोलजस्तै सबै सामान आँगनभरि लिलाममा राखिँदा उसको भागमा अस्पतालको ओछ्यान मात्र भयो । जेनीबारे उसलाई र ऊबारे जेनीलाई कसैले पनि केही भनेको छैन होला । उनीहरु जीवनसाथी तर एकअर्काको नियतिसँग अनभिज्ञ । ऊ अझै अस्पतालमा जीवितै छ भने पनि ऊ स्वर्गे हुँदा भनेर एक थोपो आँसु कसले खसाउला ? मेरो मनले सोच्न छाड्दैन । 

अन्त्येष्टिको त केही कुरै भएन । डीएनएबिनाको बाबुको शोक कसले मनाउला ? लास बुझ्न समेत कोही जाला कि नजाला ? बालाई अन्तिम बिदा गर्न नपाएको ग्लानि आँखामा टिलपिलाउँछ । एन्थोनीको दीर्घायु र मेरा बाको अल्पायुको फरक पनि यतिबेलै मेटिन्छ ।

एक्लो एन्थोनीको एक्लोपनाको अन्त्य एन्थोनीसँगै हुनेछ । एन्थोनीसँग मिसिएर बाको सम्झना फेरि शरीरभरि भत्भती पोल्न थाल्छ । बाजस्तो ठानेको मान्छेको त्यस्तो अन्त्य कल्पनामै पनि अन्याय लाग्छ ।

एन्थोनीबारे केही पत्ता लगाएर टेनेसीबाट छोराले फोन गर्छ कि आशाको त्यान्द्रो मेरो मनबाट भने अझै चुँडिन मान्दैन ।