कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!

अश्विन दानी

कसरी मान्छन् नेपालीले ती आन्दोलन, अनि तीनकुने हत्याकाण्ड!

अश्विन दानी

हाम्रा शास्त्रहरुले स्पष्ट भनेका छन्, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, र सांस्कृतिक लगायत क्षेत्रमा हुने अधर्म, असत्य, अन्याय, अत्याचार, अहंकार, लोभ, क्रोध र अज्ञानता जस्ता कर्महरूको परिणामस्वरूप समाजमा अशान्ति, द्वन्द्व, र युद्ध उत्पन्न हुन्छ।

महाभारतमा भनिएको छ -

अधर्मो हि समुत्थाय हन्ति धर्मं सनातनम्।
धर्मो वृत्तो हि निहन्ति अधर्मं स पुनः पुनः॥

अर्थात्, जब अधर्मले प्रबलता पाउँछ, तब त्यो सनातन धर्मलाई क्षति पुर्‍याउँछ। तर जब धर्म बलवान् हुन्छ, त्यो अधर्मलाई पुनः पुनः नष्ट गर्दछ।

अहिले नेपालको वर्तमान राजनीतिक र सामाजिक द्वन्द्वलाई यस श्लोकले स्पष्ट पार्छ। हो वास्तवमा  नेपाल र नेपालीको ऐतिहासिक राष्ट्रिय पहिचान र  राष्ट्रिय गौरवलाई  अधर्मको जगमा, अत्याचारको जगमा, अन्यायपूर्ण तरिकाले षड्यन्त्रपूर्वक ढंगबाट तहसनहस बनाइएको जगजाहेर छ।

आज देशको आर्थिक, सामाजिक, राजनीतिकसँगै समग्र परिस्थिति कस्तो छ? आम नागरिक सरकार र नेतृत्वसँग कति खुसी छन्? को खुसी छन्? त्यो सायदै मैले भनिराख्नु नपर्ला!

जनताका जनजीवन बदल्ने, देशमा समृद्धि र विकास ल्याउने जस्ता झुटा सपना देखाएर आम सर्वसाधारण नेपालीको रगतले मातृभूमि लत्पत्याउँदै यिनीहरूले नै आफू धनी बन्ने, आफ्ना परिवार सम्पन्न बनाउने, निरन्तर सत्ता र शक्तिमा बसेर राजकीय जीवन बिताउनका लागि पटक-पटक अनेकौं बहानामा तन्त्र (व्यवस्था) फेरे।

यिनीहरू अर्थात्, आफूलाई गणतन्त्र र लोकतन्त्रको ठेकेदार मान्ने नेताहरू, जो निरन्तर सम्पत्ति, सत्ता र शक्तिको लागि नेपाली जनताका आँखामा भ्रमको खेती गर्दै दशकौंदेखि मुलुकमा  शासनमा गरिरहेका छन्।

हिजो तीनकुनेमा के भयो?  देशमा गणतन्त्र होइन्, हिन्दु अधिराज्य चाहिन्छ भनेर प्रदर्शनका लागि सडकमा आएका एक नेपालीले राज्यको (प्रहरीले हानेको) गोली खाएर मरे। प्रहरीसँगको दोहोरो झडपमा प्रदर्शनकारीले लगाएको आगोमा जलेर अर्का नेपाली जनता मर्न बाध्य भए। अझै निर्मम तरिकाले भन्दा हत्या भयो।

हत्यारा को हो, जवाफ कसले दिने?

तर, सरकार, गृह प्रशासनसहित आफूलाई लोकतन्त्रवादी र गणतन्त्रवादी राजनीतिक दल र त्यसको नेतृत्व (नेता)  भनेर स्वघोषणाा गर्ने गरेकाहरू भन्छन्, `उक्त प्रदर्शनको आयोजक र पूर्वराजा नै हत्यारा हुन्।´

उनीहरूको सोही दाबी अनुसार हत्या/ज्यान मार्ने कसुरसहित अन्य विभिन्न कसुरमा कारबाही गर्नका लागि सरकारले राजावादी समर्थकहरू जो प्रदर्शनमा थिए उनीहरूलाई पकाउ गरिसक्यो। थपलाई पक्राउ गर्ने क्रम जारी राखेको छ। घोषित, अघोषित नजरबन्दमा थुप्रै छन्।

त्यो प्रदर्शन सही थियो या गलत? प्रदर्शनका नेतृत्व गर्नेहरूका व्यक्तिगत चाहना के थिए? कमजोरी के थियो? स्वार्थ के थियो? अनि गणतन्त्र सही या राजतन्त्र? त्यो अर्को बहस को कुरा हो। यसमा पछि बहस गरौंला।

 तर, एकपटक सोचौं त, के त्यो गोली खाएर मर्ने आम नेपाली होइन? जिउँदै जलेर मर्ने सामान्य श्रमजीवी पत्रकार (क्यामेरा म्यान) हैन? सुरक्षाकर्मीको गोली लागेर, अश्रुग्यासका कारण, लाठीचार्जका कारण वा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर घाइते हुने सुरक्षाकर्मीहरू यो देशको सामान्य  परिवारका सर्वसाधारण नागरिक हैनन्?  यो घटनाबाट कसलाई फाइदा पुग्यो? को खुसी छन्?

गृह मन्त्रालयले गत १५ गते साँझ पत्रकार सम्मेलन गर्दै दिएको तथ्यांकअनुसार तीनकुने क्षेत्रको कार्यक्रममा सुरूमै ३५ सय सुरक्षाकर्मीहरू खटिएका थिए। स्थिति प्रतिकूल बनेपछि थप सयौं सुरक्षाकर्मी खटाइएको छ।  सरकारकै तथ्यांकअनुसार राजावादी (गणतन्त्रविरोधी प्रदर्शनकारी) ३ देखि ४ हजार मात्रै थिए। अब यहाँ स्वाभाविक रुपमा प्रश्न उठ्छ। हातहतियारसहित  जनताको सुरक्षाका लागि भनेर खटिएको सुरक्षाकर्मीले बराबर संङ्ख्यामा रहेका प्रदर्शनकारीको भिडलाई नियन्त्रण गर्न नसक्नुमा राज्य र सुरक्षा संयन्त्रको अकर्मण्यता र नालायकीपन छर्लङ्ग उदाङ्गो भएको छै? सुरक्षा निकायको निति अनुसार भिड नियन्त्रणका लागि आवश्यक परे सुरक्षाकर्मीले  सुरूमा लाठीचार्ज, पानीको फोहोरा त्यसपछि अश्रुग्यास त्यसले पनि नभए हवाई  `फायर´ गर्छ। त्यसबाट पनि नियन्त्रणमा नआए अन्ततः घुँडामुनि गोली प्रहार गर्ने अन्तर्राष्ट्रिय सुरक्षा नीति हैन?

त्यसो हो भने ढुंगा प्रहार मात्रै गरिरहेका प्रदर्शनकारीमाथि म्याद गुज्रिएको अश्रुग्यास प्रहार मात्रै हैन, ताकी-ताकी अन्तर्राष्ट्रिय भिड नियन्त्रण सुरक्षा मापदण्डको खिल्ली उडाउँदै घुँडामाथि गोली प्रहार गर्ने अधिकार सुरक्षाकर्मीलाई कसले दियो? दोहोरो भिडन्त जसरी घुँडामाथि गोली कसरी, के कारण हानियो? प्रश्न अनुत्तरित छ। तर, यसको जवाफ आम नेपाली जनताले खोजिरहेका छन्।

सुरक्षा दिने भनेर फिल्डमा खटिएका हजारौं सुरक्षाकर्मीहरूले किन आगलागी भएको ठाउँमा कोही फसेका छन् कि? कसैको उद्धार गर्न आवश्यक छ कि भनेर `सर्च´ गरेन?  उद्धारका लागि फिल्डमा रहेका अन्य पत्रकारहरले हारगुहार गर्दा पनि किन घण्टौँसम्म उद्धारका लागि किन चासो देखाइएन? उद्वारमा त्यो हदसम्मको लापरबाही र गैरजिम्मेवार कसरी बन्यो सुरक्षा निकाय? यसको जवाफ पनि राज्यले दिनैपर्छ हैन र?

तर, तीनकुने घटना, त्यसपछि  सरकारको कदम साथै राजनीतिक दल र तिनका नेतृत्वहरूको प्रतिक्रिया हेर्दा  स्पष्ट हुन सकिन्छ। दशकौंदेखि देशको बागडोरको चाबी हातमा लिएका, लिइरहेका र अझै लिने तयारीमा रहेकाहरूले पुनः राजा फर्किएलान् अनि आफूहरू सत्ताबाहिर बस्नुपर्ने हो कि? भन्ने डरले   तर्सिएका छन्। त्यसैले, राजतन्त्र पुनःस्थापनको माग राख्नहरूमाथि हदैसम्मको बर्बरता देखाइरहेका छन्। हदैसम्मको कारबाही गर्ने र गराउने गरी अघि बढेका छन्। अनि आफूहरू शान्तिका दूत `गौतम बुद्ध´ जस्तै भएको कुरा जबरजस्ती स्थापित गराउने ध्येयका साथ लागिपरेका छन्।

तर, म सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्दै राज्य, राज्य संयन्त्र र यी तमाम राजनीतिक दल र तिनका नेतृत्वलाई प्रश्न गर्न चाहन्छु - के राज्यको सुरक्षा संयन्त्र यति कमजोर छ?  यस्तो कमजोर कसले बनायो? के ती सडकमा प्रदर्शनका लागि उत्रिनेहरू र सामाजिक सन्जालबाट उक्त प्रदर्शनको समर्थन गर्नेहरू सबै देशद्रोही हुन्?  एजेन्डा जेसुकै होस्, उनीहरूलाई सडकमा आउन बाध्य कसले बनायो?  तिनै जनताको समर्थनमा ल्याएको व्यवस्थाविरुद्ध पुनः जनता आउनुपर्ने स्थिति कसरी सिर्जना भयो? यसमा को जवाफदेही हुने हो?

के नेपालका राजनीतिक दल जसले राजावादीको उक्त प्रदर्शनलाई आतंककारीको सुनियोजित घटना भनेर घोक्रो सुकाउँदै छन्, उनीहरू पनि विगतमा यो भन्दा कैयौं गुणा हिंसात्मक प्रदर्शनको जगमा स्थापित भएका हैनन्? के तपाईंहरूले पटक-पटक गरेको आन्दोलनमा सुरेश रजक जस्ता पत्रकार अनि सविन महर्जनजस्ता सयौं हजारौं नेपालीले मृत्युवरण गरेका हैनन्? हजारौं-लाखौं मानिस घरबारविहीन अनि घाइते भएका हैनन्? राज्य र निजी गरी अर्बौं-अर्बको क्षति भएको होइन?

यदि हो भने तपाईंहरूलाई नेपाली जनताले हत्यारा भन्ने कि नभन्ने? नेपालको प्रचलित कानुन अनुसार तपाईंहरू (विगतमा जनधनको क्षति हुने गरी भएका प्रदर्शन र आन्दोलनका कमान्डर)लाई कारबाही गर्ने कि नगर्ने?

हिजो कांग्रेस, माओवादी, एमाले या अरू कुन-कुन दलले कुन-कुन आन्दोलनको नाममा जनताको हत्या गरेका हुन् भन्ने कि नभन्ने? कति नेपालीको लत्पत्तिएको रगतको जगमा आफूलाई नेता स्थापित क-कसले गर्‍यो? कुन तन्त्रको नायक भनेर कसले कसलाई स्वघोषणाा गर्‍यो?

उदारहणका लागि २०७२ सालमा टीकापुरमा भएको थारूहरूको आन्दोलनलाई हत्याकाण्ड र त्यसको नेतृत्वलाई हत्यारा करार गरेर जेल हालेको केही वर्षपछि पुनः उनीहरूसँगै झुकेको, उनीहरूसँगै मिलेर सरकार चलाइरहेको कुरा स्मरण गर्नु पर्दैन? यसबाट पनि जनताको मागलाई समयमै सम्बोधन गर्न नसके क्षति व्यहोर्नुपर्छ भन्ने बिर्सिएको हो? यी यस्ता थुप्रै साना-ठूला आन्दोलन र प्रदर्शनबाट आजसम्म लगातार सत्ताको स्वाद पाएर `जुका जसरी´ त्यसैका निम्ति राजनीति गरेकाहरूले यसलाई मनन गर्नु पर्दैन?

यसो भन्दै गर्दा, म हिंसाको समर्थन गरिरहेको छैन।  हिजो उनीहरूले मारे, आज यिनीहरूले मार्न पाउनुपर्छ यो पनि मैले भन्न खोजेको हैन। तर, राज्यविरुद्धको, व्यवस्थाविरुद्धको आन्दोलन या प्रदर्शन हुँदा सामान्यतया मर्ने र मारिने स्वाभाविक हो। जसलाई इतिहासले पुष्टि गर्दछ।

कुनै कुराको अन्त्य सहज हुँदैन। त्यसमाथि पनि सत्ता, शासन र शक्ति भनेको हर कोही पाउन  चाहने र सहजै गुमाउन (छाड्न) नखोज्ने कुरा सत्य युगदेखि कलियुगसम्म आइपुग्दा पुष्टि भइसकेको कुरा हो। त्यसका लागि युद्ध अनिवार्य हुन्छ। भइरहेको थियो र भइराख्ने छ।

तर, हरेक युद्धमा सत्ता पक्ष-विपक्ष हुन्छन्। युद्धका आ-आफ्नै नियम हुन्छ। सीमा हुन्छ,  सीमितता हुन्छ।  त्यो सीमा र सीमितता जब सत्तापक्षले तोड्छ तब विपक्षी (प्रदर्शनकारी/सत्ताबिरोधी)  प्रतिक्रियामा क्रोध, आवेग, उत्तेजना र शोकले ग्रसित भएर लाग्छन्। त्यसपछि प्रदर्शन या बिरोध युद्धमा परिणत हुन्छ। तब त्यो देशको मातृभूमि रणभूमिमा परिवर्तन हुन्छ। महाभारतदेखि पछिल्लो घटना क्रमसम्म आइपुग्दा यो कुरा पुष्टि भएकै छ।

त्यसैले के पुनः मुलुकलाई एकपटक रणभूमिमा परिणत गर्न सरकार र राजनीतिक दल तयार हो? म प्रश्न गर्न चाहन्छु। सरकारले राजनीतिक दलहरूको उक्साहटमा जसरी एकपछि अर्को राजावादीहरूविरुद्ध कदम चालिरहेको छ, यसले मुलुकलाई पुनः द्वन्द्वतर्फ उन्मुख त गर्दै छैन? फेरि देशमा विगतमा जस्तै थप हिंस्रक आन्दोलन सुरू हुने त हैन? शंका छ।

हुँदैन, सक्दैनन् राजावादी समर्थकहरू कम छन् भनेर भन्नेहरूले हिजोको इतिहास फर्किएर हेरुन्। तत्कालीन समयमा माओवादीहरूले राखेको मागलाई समयमै सम्बोधन नगर्दा, माओवादीमाथि तत्कालीन राज्य संयन्त्रले थप दमन गर्दा, माओवादी नेतृत्वको टाउकोको मूल्य तोक्दै सुरक्षाकर्मी परिचालन गर्दा देश कहाँ पुग्यो? नेपाल आमा र नेपालीहरूले कुन कान्तबिजोग भोग्नु पर्‍यो?

रोचक र स्मरणीय के छ भने हिजो सत्ता (तन्त्र) जोगाउन टाउकोको मूल्य तोक्नेहरू र टाउको जोगाउन (नयाँ तन्त्र) ल्याउन  लागिपरेकाहरू आज सँगसँगै सत्ता साझेदार हुँदै आइरहेका छन्। हिजो परिवर्तनका नाममा मर्ने र मार्नेहरू आज पुनः एक पटक जनताको रगत बगाउन उद्धत छन्।  हिजो परिवर्तनका नाममा  हतियारसहित प्रदर्शनमा उत्रिएकाहरूले, खुलमखुला लुटपाट र हत्याकाण्ड मच्चाएकाहरूले आज तीनकुनेको प्रदर्शनलाई  आतंककारी गतिविधि भन्न छाडेका छैनन्।

खैर, हिजो के भयो र भोलि के हुने छ यो त म जस्तो सामान्य नागरिकले आँकलन मात्रै गर्न सक्ने हो। तर, देशमा परिवर्तनको नाममा विगतमा र भविष्यमा हुने यस्ता खालको हत्या, हिंसा, अत्याचार र अन्यायलाई कहिल्यै सही भन्न सकिँदैन, कम्तीमा म भन्दिनँ।

किनकि, हाम्रो शास्त्रले स्पष्ट भनेको छ, `अहिंसा परमो धर्म´अर्थात्, अहिंसा नै सबैभन्दा ठूलो धर्म हो। तर, यस्तो भन्दै गर्दा हिजो र आज पनि व्यवस्थाविरूद्ध या विभिन्न मागसहित प्रदर्शनमा उत्रिने सर्वसाधारण सबै अपराधी हुन्, हिंसा चाहनेहरू हुन त? भन्ने प्रश्न आउन सक्छ।

सरकारको नेतृत्व गर्नेहरूले असल अभिभावकत्व निभाउन नसकेपछि, जनअपेक्षा अनुसार काम गर्न नसकेपछि, भाषण र प्रतिबद्धता गरेजस्तो विकास गर्न नसकेपछि, सुशासनको प्रत्याभूति गराउन नसकेपछि, भ्रष्टाचार, अन्याय, अत्याचारजस्तो अनैतिक र अधर्मयुक्त कर्ममा लिप्त हुन थालेपछि त्यसको प्रतिवादमा उत्रिएका जनताहरू हुन्। हिजोदेखि आजसम्म र भोलि पनि हुने यही हो। जनताको राष्ट्र र राष्ट्रिय हितको चिन्ता राख्दै,  शान्तिको चाहाना राख्दै, समृद्धिको चाहाना राख्दै, सुशासनको चाहाना राख्दै, न्यायको आशासहित  प्रदर्शनमा उत्रिन्छन्।

अन्ततः हाम्रो शास्त्रले स्पष्ट भनेको छ, `धर्म हिंसा तथैव च:´। अर्थात्, धर्मको रक्षाका लागि सत्य र न्यायको स्थापनाका लागि र अधर्मको अन्त्यका लागि गरिएको हिंसा पाप होइन, बरू धर्मको कर्तव्य हो। सायद यो कुरा आम नेपाली जनताले स्पष्ट बुझेका छन्। त्यसैले, अहिलेको परिस्थितिमा जनताको राज्यसत्ताप्रतिको वितृष्णालाई नजरअन्दाज नगरियोस्। न्याय, शान्ति, सुशासनको चाहना राख्ने नेपालीको मनोभावनालाई तुसारापात गर्न सरकार उद्धत नहोस्। विगतमा भएका कमी कमजोरीमा आत्मलोचना गर्दै राज्यमा राष्ट्रिय सुरक्षा, रोजगारी, भ्रष्टाचाररहित जनतामुखी विकास र समृद्धिको प्रत्याभूत गराउन सरकार लागिपरोस्।

धर्म, न्याय, र सत्यको जगमा शासन चलाउन्।  सत्य,  धर्म, संयम, र सद्गुणको पालन गर्दै शासन सत्ता चलाउन र जनतालाई अहिलेकै व्यवस्थामाथि विश्वास दिलाउन सकुन्। यदि यसो गर्न सक्दैनन् भने हिजो जसरी राजाले हाँस्दै सत्ता त्यागे त्यसरी नै त्याग्न राजनीतिक दल र तिनका नेतृत्व तयार हुन्। राजा मर्दा राज्य हराउँदैन भनेजस्तै सरकारमा पटक-पटक गएर दशकौंदेखि शासन गर्दा पनि जनताको मनोभावना र आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसकेका तपाईंहरूको ठाउँमा पुनः जनताले कोही अरुलाई राख्नेछन्।

त्यसैले, सरकारले व्यवस्थाविरुद्ध सडकमा आन्दोलन गर्न, प्रदर्शन गर्न र आवाज उठाउन आएका नागरिक र तिनका नेतृत्वलाई राज्यले फेरि दमन नगरोस्। उनीहरूमाथि यस जनविद्रोह (प्रदर्शन)बाट सिर्जित दु:खद् परिस्थितिको दोष थुपारेर राज्य र राजनीतिक दल आफूहरूलाई पानीमाथिको ओभानो देखाउने दुष्प्रयास नगरुन्। अन्यथा, देश पुनः द्वन्द्वमा जानसक्ने प्रष्ट संकेत देखिन्छ। यसो भयो भने अधर्म हुने छ। तसर्थ, विगतमा भएका सर्वपक्षीय त्रुटि सुधार्दै संयम र गम्भीरतापूर्वक नेपाललाई `रामराज्य´का रुपमा स्थापित गर्न सबै एकताबद्ध भई लागि पर्नु आजको आवश्यकता हो। यस कुरालाई समयमै सरकार र राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण ढंगबाट मनन गर्नुको बिकल्प छैन।

यस विषम परिस्थितिमा आरोप-प्रत्यारोप, सत्तामा पुग्ने र सत्तामा टिक्ने, व्यवस्था परिवर्तन या  पुनःस्थापना भन्दामाथि उठेर राष्ट्र र राष्ट्रिय हितका निम्ति सोचौं।