क्वारेन्टाइनबाट घर गएकै दिन मृत्यु, कोरोना रिपोर्ट आउँदै

क्वारेन्टाइनबाट घर गएकै दिन मृत्यु, कोरोना रिपोर्ट आउँदै

काठमाडौं । आरडीटी परीक्षण गरी क्वारेन्टाइनबाट घर गएका पुरुषको मृत्यु भएको छ ।  बर्दियाको बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले जानकारी दिए।

काठमाडौंबाट बर्दिया पगेका पुरुष वडामै रहेको क्वारेन्टाइनमा १४ दिन बसेर बिहीबार मात्रै घर गएका थिए । आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका उनलाई राति अकस्मात बिरामी परेपछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको र मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने तयारी भएको छ।