दसैं-तिहारले संक्रमण बढाउँछ, माघसम्म कोरोना नियन्त्रणमा आउँछः प्रधानमन्त्री

दसैं-तिहारले संक्रमण बढाउँछ, माघसम्म कोरोना नियन्त्रणमा आउँछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं-तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने दाबी गरे ।

'दसैं-तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं,' ओलीले भने, 'माघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ।' नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने उनको भनाइ छ।

'चैतदेखि दैनिक ७ हजारसम्म मानिस आए । हिजोको हेर्दा दुई हजारमा झेरेको छ। यसलाई हेर्दा हामी साउनको अन्त्यसम्म पिक हुने अनुमान गर्न सक्छौं वा भदौंको सुरूतिर। त्यसपछि यो ओरालो लाग्छ र क्रमशस् नियन्त्रण गर्नसक्छौं,' उनले भने।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका भनिएकाहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको उनको दाबी छ । अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डकाका कारण मृत्यु मान्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

प्रधानमन्त्रीले भने, ‘कतिपयलाई यथार्थ भन्दा रुचिकर मान्नुभएको छैन । २० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ ।’