१० अर्बको हिसाव माग्नेलाई प्रधानमन्त्रीको जवाफ-'क्वारेन्टाइन बनाउन खर्च भयो'

१० अर्बको हिसाव माग्नेलाई प्रधानमन्त्रीको जवाफ-'क्वारेन्टाइन बनाउन खर्च भयो'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार काममा लागेको बेलामा १० अर्बको हिसाब मागेर अलमल्याउन खोजिएको आरोप लगाएका छन् । कोरोना नियन्त्रण गर्न सरकारले १० अर्ब खर्च कहाँ कहाँ गरेको छ, हिसाब चाहियो भन्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जवाफ दिँदै उनले क्वारेन्टाइन बनाउन खर्च भएको पनि बताए । 

आजको राष्ट्रियसभा बैठकमा सांसदहरुको जवाफ दिँदै उनले भने-‘क्वारेन्टाइन बनेको छ, बस्नेहरुलाई खुवाएका छन, जनप्रतिनिधिहरुले पैसा खाए भन्दिन सजिलो छ। बहुतै दुख गरेर काम गरेका छन। त्यसमा गुन गर्नुको सट्टा, प्रशंसा गर्नुको सट्टा, कदर गर्नुको सट्टा अपमान गर्नु सन्देह पैदा गर्नु, उपयुक्त हुँदैन,’ उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु । १० अरब भन्दा केही विभिन्न निकायमा पठाइएको छ। त्यसको मसिनो गरी हिसाबकिताब आलेप, मलेपमा आउँछ।   मान्छे काममा लागेका छन यहाँ कसैलाई चाहिँ हिसाब चाहिएको छ। काममा ध्यान छैन। कामप्रतिको गम्भिर्यता छैन। हिसाबकिताब दैनिक चाहिएको छ।’  

उनले कोरोना नियन्त्रणमा खर्चेको रकमको मात्र नभई सरकारले बजेट प्रस्तुत गर्दाको १४ खर्बको सम्पूर्ण हिसाबकिताब संसदमा आउने पनि बताए । उनले भने, ‘यो मात्रै हैन १४ खर्बको बजेटको सम्पूर्ण हिसाबकिताब सदनमा आउँछ।’  उनले मान्छेले आफू बाहेक सबै भ्रष्ट सोचेको र सरकारमा रहेकाको चरित्र हत्या गर्नैपर्छ भन्ने सोचेको पनि आरोप लगाए।  

छुटाउनुभयो कि ?