फोहोरबाट मोहोर बटुल्दै भक्तपुरकाे मध्यपुर थिमी

फोहोरबाट मोहोर बटुल्दै भक्तपुरकाे मध्यपुर थिमी

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ ।

दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।

मल उत्पादन प्रभावकारी भएपछि नगरपालिकाले यसलाई प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने आन्तरिक तयारी गरेको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसी प्रालिको प्राविधिक सहयोगमा मल उत्पादन कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । यही प्रविधिबाट मल उत्पादन गर्न काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, सूर्यविनायक, टोखा, चन्द्रागिरि नगरपालिकाले स्थलगत अध्ययन गरिसकेका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।