झापाकाे मेची बहुमुखी क्याम्पसका ३९ शिक्षक-कर्मचारीको जागिर खोसियाे

झापाकाे मेची बहुमुखी क्याम्पसका ३९ शिक्षक-कर्मचारीको जागिर खोसियाे

विर्तामोड । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेलले क्याम्पसमा कार्यरत ३९ जना शिक्षक-कर्मचारीको जागिर खोसेका छन्।

बामपन्थी प्राध्यापकहरूको संगठन प्रगतिशील प्राध्यापक संघका प्रतिनिधि क्याम्पस प्रमुख पोखरेल ३९ जना शिक्षक तथा कर्मचारीको रोजीरोटीप्रति सजग र उदार नबनिदिँदा समस्या उत्पन्न भएको हो।

क्याम्पसका प्रमुख जीवन पोखरेल क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीप्रति अनुदार भएकाले आफूहरूको रोजीरोटी संकटमा परेको पीडितहरूले बताएका छन्।

३३ जना शिक्षक तथा ६ जना कर्मचारी मारमा परेका छन्।

सरकारको आदेश विपरीत क्याम्पस प्रशासनले करार शिक्षक तथा कर्मचारीलाई व्यवहार गरेको पाइएको हो।

सरकारले लकडाउन भएको अवस्थामा कर्मचारी तथा मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरीत निर्णय गरेको हो।

क्याम्पस कार्यसमितिले जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक–कर्मचारीको तलब नदिने निर्णय गरेको हो। उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक–कर्मचारी प्रभावित भएका छन्।

कार्यसमितिले करार अवधि थप्ने निर्णय गरे पनि लकडाउन खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने (काम गरेपछि दाम दिने) निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले बताएका छन्।

१४ जना शिक्षकको जेठ २ गते करार अवधि सकिएको छ। तर परिस्थिति सहज भएका बेला जतिसुकै बेला पनि करार अवधि थपिने गरिएको थियो।

मेची बहुमुखी क्याम्पस आन्तरिक स्रोत पनि मजबुद छ। क्याम्पसको नाममा सयौं विघा जमिन झापामै छ। तर अहिले संकटको घडीमा क्याम्पस प्रशासनले अन्यायपूर्ण तरिकाले अस्थायी तथा करारमा रहेका शिक्षक तथा कर्मचारीको रोजीरोटी खोस्ने काम गरेको छ।

क्याम्पस प्रमुख जीवन पोखरेलले आफूले नियमसंगत काम गरेको बताए।

उनले भने, ‘करारको सम्झौता अनुसार तलब खुवाउने निर्णय भएको हो।’