आमाको दुधबाट बच्चामा कोरोना भाइरस सर्छ ?

आमाको दुधबाट बच्चामा कोरोना भाइरस सर्छ ?

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन ।

धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो तर शिशुमा कोरोना देखिएन । के शिशुलाई कोरोना सर्दैन ? शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ ? यिनै विषयमा परोपकार, प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीसँग कुरा गरिएको छ । उनका भनाइ यस प्रकार छन् :

कोरोना भाइरस शिशुलाई नलाग्ने भन्ने हुँदैन । कोभिड–१९ रोग नयाँ भएकाले यसको अनुसन्धान कम भएको छ । अहिले जे देखिइरहेको छ त्यसैका आधारमा मानिसले आकलन गरेका छन् । जति पनि बाहिरतिर सिरिएस केस ६० वर्षभन्दा माथिका र अरू दीर्घरोग भएकालाई कोरोना भाइरस बढी देखिएको छ । बालबालिकामा त्यति जटिल अवस्था देखिएको थिएन ।

शिशुमा कोभिड हुँदै नभएको भने होइन । हामीकहाँ अहिलेसम्म देखिएकोमा आमासँग बसिरहेका बालबालिकामा कोरोना देखिएको छ । दुई महिनाको शिशुमा पनि कोरोना देखिएको छ तर कसैमा पनि जटिल भएको भन्ने छैन ।

भएकोमा पनि अरू केही न केही रोग छ भने मात्र जटिल भएको छ । भर्खर जन्मेको शिशुमा कोरोना देखिएको छैन । चीनमा जम्मा तीन शिशुमा देखिएको थियो । त्यसमा पनि पीसीआर गर्दा नेगेटिभ आएको थियो ।

बालबालिकाको कुरा गर्दा आमाको पेटबाटै शिशुमा सरेको छैन । पछि आमाको श्वासप्रश्वास, थुकबाट भने सर्न सक्छ ।