पथरी, सप्तरी । लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन ।
१२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आइपुगे । यता घरमा रित्तिएका भाँडाकुँडा र भोको पेटसहित जीवनसंगिनी जलेश्वरी सदा श्रीमान् र उनले बोकेर ल्याउने कमाइ पर्खिबसेकी थिइन् ।
‘उनी त रित्तै हात आए,’ भोकसँग पराजित भएर मलरले प्राण त्यागेको १४ औं दिनमा कान्तिपुरसँग जलेश्वरीले भनिन्, ‘साहुले बन्द खुलेपछि पैसा दिन्छन्, लिन जानुपर्छ भनेका थिए, पहिल्यै गए ।’ विराटनगरबाट रित्तो हात फर्किएको करिब एक महिनापछि पाँचौं दिनको भोक खप्न नसकेर गत जेठ ६ गते मलर सदाको निधन भयो । ‘५ गते बेलुकासम्म केही खानेकुरा ल्याएर आउँछु भनेर कोदालो र छाता लिएर गएका थिए, नातिले खेतमा लडिरहेको खबर पो लिएर आयो,’ जलेश्वरीले भनिन्, ‘अरू कोही थिएनन्, बुहारीहरूले बोकेर ल्याए ।’
मलर अन्नको जोहो गर्न हिँडेपछि जलेश्वरी बुहारीहरूसँगै खाना पकाउने दाउरा लिन कोसीटप्पुको जंगलमा पुगेकी थिइन् । अहिले पनि झुपडीमा उनले खोजेर ल्याएको दाउरा र गुइँठाको खात छ । तर त्यसमा पकाएर खाने अन्न छैन । केही कमाउँला भनेर भारतको गुजरात गएका मलर–जलेश्वरीका तीन छोरा उतै अलपत्र छन् । उनीहरू यही भएको भए कमाइ गरेर ल्याउने विकल्प बाँकी रहन्थ्यो कि † एक महिनासम्म सडकको काम गराएर विराटनगरबाट रित्तो हात पैदलै फर्काउने ठेकेदारले कमाइको ज्याला दिएको भए पनि उनको मृत्यु भोककै कारण हुँदैनथ्यो कि † जलेश्वरीको मनमा यतिबेला यस्तै प्रश्न खेलिरहेका छन् ।
दिनभरि छरछिमेकी गुहारेपछि कलर सदाले डेढ सय रुपैयाँ जम्मा पारे । नजिकै हटिया लागेको ठाउँमा पुगे, अलिकति माछा र त्यसमा हाल्ने मरमसला किनेर ल्याए । मृत्युको १३ दिनपछि माछामासु खाएर वर्षभरिका लागि मासु फुकाउने चलन छ । त्यही चलनलाई निरन्तरता दिन कलरले आफ्ना जेठान मलरले संसारबाट बिदा भएको १४ औं दिनमा माछाको जोहो गरेका हुन् । तर त्यस परिवारमा संस्कार धान्न ल्याएको त्यही माछा र जंगलबाट टिपेर ल्याएको अलिकति निगुरोको सागबाहेक अर्थाेक केही छैन ।
कमाउन भारतको गुजरात पुगेका दुई छोरा उतै फसेका छन् । कहिले फर्किने ठेगान छैन, फर्किए पनि खान अन्न छैन, मजदुरी गर्ने ठाउँ छैन । हरेक साँझ–बिहान चुलो बाल्दा कलरकी श्रीमती हसियादेवीलाई चार नातिनातिना, दुई बुहारी र आफूहरूको थालमा के भाग लगाउने भन्ने पिरलो परिरहन्छ । ‘पहिले हामीले यता ज्याला मजदुरी गथ्र्यौं, छोराहरूले भारतबाट अलिअलि कमाएर ल्याउँथे, बिहान–बेलुका खान पाइन्थ्यो,’ हसियादेवीले भनिन्, ‘अब कसरी बाँच्ने, कहिलेसम्म बाँच्ने, भगवान्ले नै जानुन् ।’ हसियादेवीको परिवार टोलकै सम्पन्नमा पर्छ किनभने उनीहरूका नाममा तीन धुर जग्गा छ । अरूको यत्ति पनि छैन । अहिले भोकसँग लडिरहेकी हसियादेवी र १५ दिनअघि भोकसँग पराजित भएर प्राण त्यागेका मलर सदा दाजुबहिनी हुन् ।
०००
६० वर्षीय शिव सदा र उनकी श्रीमती फिनादेवीको गरिबीसँगको साइनो त पुरानै हो तर अहिले जुन हालत छ, यो अवस्थामा पुगिएला भनेरचाहिँ उनीहरूले कहिल्यै सोचेका थिएनन् । बिहान–बेलुकै काम गरेर छाक टार्ने यो परिवारको भण्डार लकडाउनपछि रित्तिएको छ । श्रम बेचेर हातमुख जोर्ने बानी परेर होला, ६ जनाको परिवारका लागि राहतमा आएको १० किलो चामल छेउ बराबर पनि लागेन । त्यही बीचमा शिवले खाने औषधि पनि सकियो । ‘राहतमा आएको ५ किलो चामललाई ४० रुपैयाँको दरले २ सयमा बेचें, त्यही पैसाले श्रीमान्ले खाने औषधि किनें,’ फिनादेवीले भनिन्, ‘राहतभन्दा काम दिए हुन्थ्यो ।’ अहिले त त्यही औषधि पनि सकिएर शिवको खुट्टाको घाउ बल्झिरहेको छ ।
गत वर्ष भारतको कश्मीरमा गाडीले ठक्कर दिएपछि उनको खुट्टा भाँचिएको थियो । बैसाखीको सहाराबिना शिवको डेग चल्दैन । त्यसैले यसपालि उनी पैसाको जोहो गर्न भारत जान सकेनन् । फिनादेवीले यहाँ आफ्नो बर्कतले भ्याउने ज्यालामजदुरीको कुनै कामै फेला पारिनन् । कोसीटप्पुको जंगलबाट निगुरो टिपेर त ल्याउँछिन् तर लकडाउनका कारण बेच्न सकिरहेकी छैनन् । कहिलेकाहीँ बिक्री भए पनि एउटा मुठाको जम्मा २ रुपैयाँ हात लाग्छ । त्यही निगुरो कञ्चनरुप बजारसम्म आइपुग्दा मुठाको १० रुपैयाँ र काठमाडौंमा ३० देखि ४० रुपैयाँ पर्छ ।
गत फागुनअघिसम्म उनकै टोलबाट भारत गएका १९ जना युवा लकडाउनले उतै थुनिएका छन् । उनीहरू उता थुनिँदा यता टोलका परिवारको गाँस खोसिएको छ, अभावको ग्राफ बढेर ठोक्किन बाँकी कुनै बिन्दु छैन ।
००००
१५ वर्षीया राधा सदा एक महिनाको छोरा काखमा च्यापेर टोइलाइरहेकी छन् । सामान्यत: एक महिनाको बच्चाको तौल कम्तीमा साढे ३ किलो हुनुपर्ने हो तर उनका छोरा पुगनपुग साढे २ किलोका मात्रै छन् । भोकमरी सबैको साझा समस्या रहेको यो मुसहर बस्तीमा राधाका लागि विशेष खाना र स्याहारसुसार हुने कुरै भएन । ‘पोसिलो खानेकुरा भनेको राहतमा आएको दाल मात्रै हो,’ राधाले भनिन्, ‘बिहान–बेलुका त्यही दाल एक/एक कचौरा खान्छु ।’
राधा गर्भवती भएपछि उनका श्रीमान् दानी सदा पैसा कमाउन गुजरात गएका थिए । उनी सुत्केरी हुने बेलासम्म फर्किएर आउने कुरा थियो । तर फोनमा सम्म पनि कुरा हुन मुस्किल हुन्छ अहिले । उता दानीको बिजोग छ, यता राधालाई चिन्ता । यस्तोमा के कसो छ भनेर खैखबरी गर्न कोही पुगेको छैन । पहिलो चरणको राहतमा घर भित्रिएको १५ किलो चामल कति पो टिक्थ्यो । ‘काम मात्रै गर्न पाए पनि केही न केही गरेर खान पाइन्थ्यो । हडताल भयो, बाँच्नै पनि सकिन्छ कि सकिन्न जस्तो छ ।’ राधा रहेको कञ्चनरुप मुलुकको तेस्रो बालमैत्री नगरपालिका हो । तर १५ वर्षकी राधा र एक महिनाको छोरा दुवैको जीवन खाद्यान्नको अभावमा जोखिममा छ । वडा अध्यक्ष कैलाश साह भने आफूहरूलाई कसले कता खान पाएन भनेर खोज्दै हिँड्ने फुर्सद नभएको बताउँछन् ।
०००
राहत माग्दा दबाब
भोककै कारण ज्यान गुमाएका कञ्चनरुप नगरपालिका–५ का ५० वर्षीय मलर सदाको परिवार गत जेठ १४ गते नगरपालिका कार्यालय पुग्यो । मलरकी श्रीमती जलेश्वरी देवीले लकडाउनका बेला बेरोजगार भई आम्दानीको कुनै स्रोत नभएको र दिइएको राहत सकिएकाले भोकै रहेका बेला जेठ ६ गते श्रीमान्को मृत्यु भएकाले किरिया खर्च उपलब्ध गराइदिन भन्दै नगरपालिका कार्यालयमा निवेदन दिइन् ।
तर नगर प्रमुख वसन्त मिश्रले मलरको मृत्यु भोकले नभई दमबाट भएको भन्दै त्यही उल्लेख गरी निवेदन ल्याउन दबाब दिए । उनले भोकका कारण मलरको मृत्यु भएको कुरा निवेदन राखे राहत नै नदिने बताए ।
नगर प्रमुख मिश्रले मलरको मृत्यु दमरोगका कारण भएकाले त्यहीअनुसारको निवेदन ल्याउन भनेको स्विकारे । ‘मलरको मृत्यु भएको भोलिपल्ट उनको परिवार भेट्न गएको थिएँ, हामीलाई दमको कारणले मृत्यु भयो भनियो तर पछि भोकको कारण मृत्यु भयो भन्ने कुरा गर्न थाले,’ उनले भने, ‘कि त हामीलाई पनि भोकले नै मृत्यु भएको भन्नुपर्ने थियो या त अरूलाई पनि दम रोगबाट मृत्यु भएको भन्नुपर्थ्यो, कुरा बदल्नु हुँदैनथ्यो ।’ उनले दम रोगबाट मृत्यु भएको भनी वडा कार्यालयको सिफारिस लिएर आए नगरपालिकाले सहयोग गर्ने बताए । तर आफ्ना श्रीमान्लाई खोकी लागेको भए पनि दमको बिमार नै नभएको जलेश्वरीको भनाइ छ । नगरपालिकाले राहत नदिएपछि जलेश्वरीले छिमेकीसँग १५ सय रुपैयाँ चन्दा उठाएर श्रीमान्को किरिया गरिन् ।
वडा अध्यक्ष कैलाश साहले पनि मलर सदा भोकले नमरेको र विपक्षीहरूले उचालेका आधारमा आफूहरूको विरोध भइरहेको आरोप लगाए । ‘उनीहरूले आफैं–आफैं बाहिर कुरा गर्छन्, खान पाइएन भनेर हामीसँग भन्दैनन्,’ साहले कान्तिपुरसँग भने, ‘हाम्रो पनि विभिन्न काम हुन्छ, को कता भोकै छ भनेर घरघर जान सकिन्न, उनीहरू वडामा आउनुपर्यो नि ।’
जीवन धान्ने मेलो पञ्जाब र गुजरात
कञ्चनरुप नगरपालिकामा मात्रै ३४ प्रतिशत दलितको बसोबास छ, १२ वडामा ४५ वटा बस्ती मुसहर सदाको टोल छ । बढीमा तीन धुर जग्गामा घर बनाएर बसेका उनीहरूको आम्दानीको मुख्य स्रोत नै दैनिक ज्याला मजदुरी हो । अधिकांश वैदेशिक रोजगारीका लागि भारतको पञ्जाब, हरियाणा, गुजरात र कश्मीरतिर जाने गर्छन् । घरपरिवार सर्वेक्षण २०७५ अनुसार कञ्चनरुपका करिब ३ हजार ५ सय घरपरिवारबाट वैदेशिक रोजगारीमा छन् । ०७६ सालमा रोजगारीका लागि भारत गएका नागरिकको हिसाब नगरपालिकाले राखेकै छैन । गुजरातमा फसेका पथरी टोलका १९ जना नगरपालिकाको हिसाबकिताब बाहिरका हुन् ।
यहीं दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने करिब ८ हजार घरपरिवारको आर्थिक अवस्था कोभिड–१९ का कारण गरिएको लकडाउनपछि भयावह बन्दै गएको छ । कञ्चनरुपमै बसेर दलित समुदायको अवस्थाबारे अध्ययन गरिरहेका भोला पासवान दलितको भोट नपाएसम्म जितिन्न भन्ने जान्दाजान्दै पनि नेताहरूले उनीहरूबारे नसोचेको बताउँछन् । ‘खेती किसानी गर्न उनीहरूसँग जमिन छैन, अरूको काम गरेर खानुपर्नेहरूलाई चुनावका बेला नेताहरूले फकाउँछन्,’ पासवानले भने, ‘दलितहरूलाई साथमा नलिएसम्म चुनाव जितिन्न भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ तर जितिसकेपछि फर्किएर पनि हेर्दैनन् ।’
खाद्यान्न अभावमा मृत्युवरण गरेका मलर सदा र अहिले भोकले छटपटिएका पथरीवासीको भोटले नै चुनाव जितेका वडा अध्यक्ष साह र नगर प्रमुख मिश्रले त्यो टोलमा विकासका नाममा एउटा मन्दिर मात्रै बनाइदिए । जबकि सदा, राम र सरदारहरूको बाहुल्य रहेको वडा नम्बर ५ मा टिनको छानो र ढोका भएको घर भेट्न मुस्किल पर्छ । शौचालय २ वटा घरमा मात्रै छ । उसो त कञ्चनरुप नगरपालिका खुला दिसामुक्त क्षेत्र हो । मुसहर बस्तीका बालबालिका स्कुल गएको रेकर्ड पनि नगरपालिकासँग छैन । यो समुदायबाट अहिलेसम्म एक जनाले मात्रै एसईई पास गरेका छन् । जबकि अन्त शिक्षा र शिक्षालयका विषयमा थाहा नहुँदै २००४ सालमै कञ्चनरुप नगरपालिकामा सर्वाेदय मावि खुलेको थियो । कञ्चनरुपबाट २०६८ सालमा एउटै मन्त्रिपरिषद्मा जयप्रकाशप्रसाद गुप्ता, नन्दन दत्त र हेमराज तातेड मन्त्री भएको रेकर्ड पनि छ ।
मजदुरी गरेर साहुलाई कुत
राणा खानदानका चन्द्रविक्रम राणा ०४८/०४९ सालसम्म कोसीटप्पु वन्यजन्तु आरक्षमा सिकार खेल्न आउँथे । उनको विहार वीरपुरका जमिनदार गजेन्द्रनारायण सिंहसँग टक्कर पर्यो । त्यसपछि राणाले सीमा क्षेत्रमा गजेन्द्रनारायणको जमिनमा बस्दै आएकाहरूलाई पथरीस्थित आफ्नो जग्गामा बसोबासका लागि ल्याए । उनको देहावसानपछि सन्ततिले १५ बिघा क्षेत्रफलको उक्त जग्गा कञ्चनरुपकै साहु भोला रावललाई बेचिदिए । जग्गा आफ्नो नाममा आएपछि रावलले स्थानीय विपन्न मजदुरसँग बर्सेनि ४ मन धान वा त्यति नै बराबरको नगद उठाउँदै आएका छन् ।
तीन धुर जग्गामा मुस्किलले बस्दै आएका नागरिक कुतसमेत तिर्नुपर्दा झन् समस्यामा छन् । त्यसमा जग्गा साहुले कहिले कतिखेर आएर घर भत्काइदिन्छन् भन्ने ठेगानसमेत नभएको स्थानीय बलदेव रामले बताए । ‘मेरो जग्गा हो, खाली गर या त कुत तिर भनेर दबाब दिन्छन् । चार मन धान तिर्छौं तर हामीसँग धान फलाउने जग्गा छैन,’ रामले भने, ‘धान नहुनेले ज्यालाबाट आएको पैसा जग्गा मालिकलाई बुझाउँछौं ।’ ऐलानी जग्गामा बसेकाहरूलाई स्थानीय तहका पदाधिकारीले बारम्बार थर्काउने गरेको गुनासो पनि उनीहरूको छ । (कान्तिपुरबाट)