लकडाउनका बीच बुधबारदेखि निजी विद्यालयले भर्ना लिने

लकडाउनका बीच बुधबारदेखि निजी विद्यालयले भर्ना लिने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहँदा सरकारले लकडाउन जेठ ३२ गतेसम्म थप गरेको छ ।  तर, निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया थाल्ने भएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बुधबारदेखि निजी विद्यालयको प्रशासन खुल्ने जानकारी दिएका छन् । जनता टेलिभिजनमा आइतबार बिहान अन्तर्वार्ता दिँदै उनले भर्चुअल कक्षा सञ्चालनका लागि पनि विद्यालय खुल्ने बताएका छन् ।

सरकारले लकडाउन थप गरे पनि अलि खुकुलो पार्नकै लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको उनको भनाइ छ ।‘सरकारले बजेटमै भर्चुअल कक्षा लिनका लागि तयारी थाल्ने उल्लेख गरिएको छ । त्यसैले हामीले जेठ २१ गतेदेखि स्कुल प्रशासन खोल्न पाउनुपर्छ भनेर सरकारलाई आग्रह गरेका छौं,’ उनले भने ।

सरकारले नीति तथा कार्यक्रममै कोरोना संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयले भर्ना प्रक्रिया शुरु गर्न लागेको उनले बताए । देशभरका अधिकांश सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हुनाले सामुदायिक विद्यालय भने कहिले खुल्छन भन्ने टुंगो लागेको छैन ।