प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको गएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ’, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीले सोमबार सो सेन्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत् आफू उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्न सक्ने र समाचार हेर्नसक्ने अवस्थामा रहेको जानकारी दिए ।