ब्याट्री र डेटा खपत गर्ने विज्ञापन ब्लक गर्दै गूगल क्रोम

ब्याट्री र डेटा खपत गर्ने विज्ञापन ब्लक गर्दै गूगल क्रोम

काठमाडौं । मोबाइलको ब्याट्री बचाउन तथा नेटवर्कको प्रयोग तथा वेबसाइट स्पीडलाई सुधार गर्न क्रोमले त्यस्ता विज्ञापनहरुलाई ब्लक गर्ने भएको छ ।  क्रोमले आफ्नो कम्प्युटिङ रिसोर्सलाई उपभोग गर्ने सबै विज्ञापनलाई डिलिट गर्ने भएको हो । 

गूगलले आफ्नो ब्लग पोस्टमार्फत यो प्रविधिलाई आउने यसै महिनामा परीक्षण गर्ने र आगामी अगस्ट महिनामा क्रोममा राख्ने बताएको छ । तर गूगलले खराब विज्ञापनकर्ताहरुको विज्ञापनमाथि मात्र यस्तो नीति अपनाउने बताएको छ । 

चार एमबीभन्दा धेरै नेटवर्क डेटा खपत गर्ने तथा १५ देखि ६० सेकेण्डसम्म ब्राउजरको मेन कम्प्युटिङ प्रोसेस ओगट्ने विज्ञापनहरु विरुद्ध गूगलले यस्तो कदम उठाउने छ । त्यस्ता विज्ञापनकर्ताहरुकहाँ विज्ञापन हटाइएको नोटिस समेत पुग्नेछ । 

गूगलले क्रिप्टोकरेन्सी माइनिङ गर्न प्रयोगकर्ताको कम्प्युटिङ हार्डवेयर प्रयोग गर्ने एडहरुलाई पनि निशाना बनाइने बताइएको छ । 

गुगलको यो नयाँ हस्तक्षेपकारी नीतिले वेबसाइट इन्स्ट्रक्सनलाई रद्द गर्दै वेबलाई बिगार्न सक्ने समस्याहरुको समाधान गर्नेछ । अहिले धेरै ब्राउजरहरुले यहि तरिका अपनाइरहेका छन् । ब्रेभ ब्राउजरले बाइ डिफल्ट रुपमै एड ब्लक गर्छ । भिभाल्दीले पनि एड ब्लक गर्ने विकल्प दिएको छ । 

यस्तै एप्पल सफारी, माइक्रोसफ्ट एज र मोजिल्लाले समेत अनलाइन ट्रयाक गरेर गोपनीयतामाथि हस्तक्षेप गर्ने विभिन्न एड ब्लक गर्न अनेक तरिकाहरु अपनाएको छ ।

गूगलले आफ्नो सीमिततालाई नाघ्ने खराब विज्ञापनहरुलाई मात्र निशाना बनाएको छ । क्रोमका प्रोग्राम म्यानेजर मार्सल भालले ब्लग पोस्टमा लेखेका छन्, ‘आज ०.३ प्रतिशत विज्ञापनहरुले यो थ्रेसहोल्ड नाघेका छन् । जसले कूल २७ प्रतिशत नेटवर्क डेटा खपत गर्नुका साथै २८ प्रतिशत सीपीयूको खपत गरेका छन् ।’