काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित दुबईबाट आएका, गोरखा र चितवन पुगेर फर्किएका थिए

आइतबार काठमाडौंको सोह्रखुट्टेका एक जना पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ६९ वर्षीय पुरूष काठमाडौं महानगरपालिका-१६ का हुन् ।

वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार ती पुरूष केही महिनाअघि दुबईबाट नेपाल फर्किएका थिए। 'दुई-तीन महिनाअघि दुबईबाट नेपाल फर्किएका हुन्,' उनले भने,'त्यसपछि उनी गोरखा, चितवन गएर काठमाडौं फर्केको देखिन्छ।'

संक्रमित पुरूषलाई उपचारका लागि ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा पठाइने भएको छ। आइतबारमात्रै नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये ८७ जनालाई निको भएको छ भने ३ जनाको मृत्यु भएको छ ।