बङ्गलादेशी कम्पनीले बनायाे कोभिड-१९ को औषधि

छिमेकी मुलुक बङ्गलादेशको औषधि निर्माता कम्पनी बेक्सिम्को फर्मास्युटिकल्स लिमिटेडले विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड १९ को औषधि बेच्ने आफ्नो कम्पनी विश्वमा पहिलो भएको दाबी गरेको छ।

उसले उत्पादन गरेको एन्टीभाइरल औषधि कोरोनाभाइरस संक्रमणको उपचारका लागि प्रयोग हुने बेक्सिमले जनाएको खबर ‘द प्रिन्ट’ ले जनाएको छ।

राजधानी ढाकामा रहेको उक्त कम्पनीले एक भायल औषधिको ६ हजार टाका (७१ अमेरिकी डलर) मा निजी क्लिनिकहरुलाई बिक्री गरेको र सरकारी अस्पतालहरुमा निशूल्क वितरण गरिएको कम्पनीका एक अधिकारी रब्बुर रेजाले बताएका छन्।

उनको दाबी अनुसार एकजना कोरोनाभाइरस संक्रमित सिकिस्त विरामीका लागि कम्तीमा ६ भायलसम्म उक्त औषधि प्रयोग गर्नुपर्छ। विश्व व्यापार संगठनको अनुमति पाए उसले अन्य देशका लागि पनि औषधि उत्पादन गरेर बिक्री गर्नसक्ने उक्त कम्पनीले जनाएको छ।