के प्रधानमन्त्रीले भनेजस्तै भारतबाट आएका नेपालीमा देखिएकाे काेराेना 'कडा' हाे ?

भारतका धेरै अनुसन्धानकर्ताहरुले चीनको उहानमा उत्पति भएको भाइरस भन्दा भारतमा मानिसलाई संक्रमण भइरहेको भाइरस फरक किसिमको भनेर बताइरहेका छन्।

विदेशका धेरै सञ्चारमाध्यमहरुले पनि देश/देशमा फरक/फरक तरिकाले कोरोना भाइरसले स्वरुप फेरेको भनेर सामाग्री प्रकाशित वा प्रशारित गरिरहेका छन्।

अनुसन्धानकर्ताहरुले भारतमा कम परीक्षण हुनु र भाइरसको अर्कै रुप भएका कारण संक्रमण अझ भयावह हुनसक्ने भन्दै चेतावनी दिइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि संसदमा गरेको सम्बोधनमा भारतबाट आएको भाइरस कडा खालको भनेर प्रतिक्रिया दिएका थिए।

देशभर कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै जाँदा र नेपालमा मानिसको मृत्युसमेत हुन थाल्दा उनको त्यो प्रतिक्रिया आएको थियो।

जमिया हमदर्दका उपकुलपति डा. सइद इ हसनैनले भारतमा संक्रमण बढाइरहेको भाइरसका बारेमा अध्ययन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘भारतमा पाइएको भाइरस र अन्यत्र पाइएको भाइरसमा प्रोटिनको स्वरुपमा परिवर्तन देखेका छौं।’

तर अन्य देशहरुको भन्दा भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको मृत्यु एकदमै कम भएको अनुसन्धानकर्ताहरु बताउँछन्। डा. हसनैनले भनेका छन्, ‘हामी यो विषयमा पनि अध्ययन गर्न थालेका छौं।’

संसारभरमा दस लाखमा ४० जनाको मृत्यु भएको औसत परिणाम छ भने भारतमा दस लाखमा दुईजनाको मृत्यु भएको बताइन्छ। तर धेरै भारतको परिणाम परीक्षण पर्याप्त नभएकाले कम देखिएको पनि भन्ने गरेका छन्।